एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सम्पन्न

काठमाडौं, २७ भदौ । । एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सम्पन्न भएको छ। विशेषगरी बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजागाजासहित बुद्धका भजन तथा श्लोक गाएर मठमन्दिर, विहार र बौद्ध चैत्यको परिक्रमा गर्ने गरिन्छ।

गत साउन २८ गतेदेखि सुरु भएको गुँला पर्व एक महिनासम्म विभिन्न स्थानीय बौद्ध चैत्य तथा धार्मिक स्थलको परिक्रमा, पूजाअर्चना र भजनकीर्तन गर्दै मनाइएको हो।

पर्वका क्रममा दैनिक नौ बाजा बजाउँदै चैत्य तथा मन्दिरको परिक्रमा गर्ने परम्परा छ। गुँला अवधिभर ब्रतालुले नुन नखाई दिनमा एक छाक मात्र भोजन गर्ने तथा बिहान–बेलुका पूजाअर्चना गर्ने प्रचलन रहेको छ। दर्शन तथा पूजाका क्रममा बाजागाजासहित श्लोक तथा मन्त्र उच्चारण गर्दै मठ, मन्दिर, चैत्य र विहारको परिक्रमा गरिन्छ।

गुँला पर्व काठमाडौँ उपत्यकाका भक्तपुर, काठमाडौँ, ललितपुर, कीर्तिपुर र मध्यपुरथिमिमा पनि परम्परागत रूपमा विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिसहित मनाउने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्