नेपाल टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० करोड हस्तान्तरण

काठमाडौं । नेपाल टेलिकमले गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि संस्थागत रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० करोड सहयोग रकम हस्तान्तरण गरेको छ ।

आज (२४ गते) आयोजित एक विशेष कार्यक्रमका बिच माननीय सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाज्यू र सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेलज्यूको उपस्थितिमा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ज्यूले उक्त रकमको चेक माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन् ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत प्रेम प्रसाद सिलवाल, प्रमुख वित्तीय अधिकृत द्वारिका प्रसाद पौडेल र प्रमुख व्यावसायिक अधिकृत गोपालसिंह केसी समेतको उपस्थिति रहेको थियो ।

यस अघि कम्पनीका कर्मचारीहरुको तर्फबाट २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ रकमको चेक माननीय अर्थमन्त्रीज्यूलाई हस्तान्तरण भइसकेको छ ।

कम्पनीले प्रभावित क्षेत्रका सेवाग्राहीलाई बाढी पश्चात नै ६ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको छ ।

कम्पनीको यस सहयोगले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको तत्कालीन राहत, उद्धार तथा दीर्घकालीन पुनस्र्थापना कार्यमा उल्लेख्य योगदान पुग्ने विश्वास लिइएको छ ।

नेपाल टेलिकमले विगतदेखि नै बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक विपद् र कोभिड महामारीको समयमा देश र नागरिकप्रति समर्पित भई निरन्तर आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको छ । साथै, संस्थाथत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

विपद्का समयमा सञ्चार सेवाको निरन्तरता कायम गर्न र राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सक्दो सहयोग गर्न समेत कम्पनी सदाझै प्रतिबद्ध छ ।

 

प्रतिक्रिया दिनुहोस्