रुकुममा बस दुर्घटना, नौ जना घाइते, सातको अवस्था गम्भीर

काठमाडौ । रुकुममा आज बिहान बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् जसमा ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना ५ ख ४०१२ नंको बस सिस्ने गाउँपालिका–५ मा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा एक, बाँके डुडुवा गाउँपालिका–५ की २५ वर्षीय समुद्रा ऐरी, रोल्पा लिबाङ–४ का ३० वर्षीय दिलीपकुमार पुन, रुकुम पश्चिम बाँफीकोट गाउँपालिका–५ का २० वर्षीय दीपक देवकोटा, रुकुम पूर्व सिस्ने–५ का ४० वर्षीय अमर थापा र सोही ठाउँकी ५५ वर्षीया पुतला ऐरी घाइते भएको प्रहरीद्धारा जानकारी आएको छ ।

दुर्घटनामा परेर घाइते हुनेमा रुकुम पूर्व सिस्ने–५ की ५१ वर्षीया सुधाकुमारी शर्मा, सोही ठाउँका २३ वर्षीय नारायण गौतम, बाँके डुडुवा–५ का ३० वर्षीय अजित ऐरी र अन्य दुईजनाको नाम ठेगाना नखुलेको निरीक्षक दिवाकर रिजालले जानकारी दिनुभयो ।

निरीक्षक रिजालले घाइतेमध्ये समुद्रा, दिलीप, अम्मर, सुधाकुमारी अजित र नाम ठेगाना नखुलेका दुईजनाको अवस्था गम्भीर जानकारी दिए । जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घाइते सबैको टाउको, छाती, हातखुट्टामा चोट लागेको छ ।

तीव्र गतिका कारण गाडी दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ । गाडी चालक दाङ, तुल्सीपुर–११, तरीगाउँका चूडामणि विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पनि निरिक्षक रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्