कर्णालीको बजेट सम्झौतापत्र जस्तो भएको सांसदको आरोप

सुर्खेत । कर्णाली प्रदेशका सांसदहरुले आर्थिक मन्त्री प्रकाश ज्वालाले संसदमा आर्थिक वर्ष २०७५/०७६ कालागि प्रस्तुत गरेको बजेट सम्झौतापत्र जस्तो भएको आरोप लगाएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद करवीर शाहीले बजेटमा धेरै ठाँउमा सम्भाव्यता अध्ययन गरिने उल्लेख गरिएको बताउँदै त्यो सम्भाव्यता अध्ययन कहिले सकिने हो, डिपिआर कहिले गरिने हो र कार्यान्वयनमा कहिले जाने हो भन्दै प्रश्न गरे । ‘यो बजेटमा सम्भावनै सम्भावनाका कुरा उल्लेख छ’ सांसद शाहीले भने, ‘मलाई त यो बजेट सम्झौतापत्र जस्तो लागेको छ ।’ सांसद शाहीले बजेटलाई दामासाहीको रुपमा नबाँडन सरकारलाई आग्रह गर्दै आवश्यकता पहिचानका आधारमा बजेट विनियोजन गर्न माग गरे ।

नेपाली कांग्रेसका तर्फबाट सांसद झोवा कामीले केन्द्रले जस्तै दुर्गमलाई हेला गरी बजेट ल्याएको भन्दै आलोचना गरेकी छिन् । ‘केन्द्रमा मन्त्रीहरुले आफ्नो क्षेत्रमा मात्र बजेट पारेका छन् ’ उनले भनिन, ‘कम्तिमा कर्णाली प्रदेशका त्यस्तो नगरियोस ।’ सांसद कामीले यदी मन्त्रीहरुले आफ्नो क्षेत्रमा बजेट हाल्ने र दुर्गम क्षेत्रमा बजेट विनियोजन नगरे ढुंगा हान्न समेत पछि नपर्ने चेतावनी दिईन । ‘कसैलाई काखा र पाखा नगरियोस’ उनले भनिन्, ‘त्यस्तो भएको खण्डमा हामीहरु जस्तो सुकै कदम उठाउन पनि तयार छौं ।’

सांसद गोपाल शर्माले बजेट वितरणमुखी भएको बताए ।‘बजेट कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा वितरणमुखी हुने गरी आएको छ ’ उनले भने, ‘यसलाई सुधार्न आवश्यक छ ।’ सांसद शर्माले बजेटलाई आफूले साइकलमा चढेर उच्च गतिमा गुडिरहेको कार जस्तै दगुर्न खोजेको रुपमा लिएको बताए । ‘साइकलको टायर कुनैपनि बेला फट्न सक्छ ’ सांसद शर्माले भने, ‘चालकले होस गरेर चलाउनुहोला ।’

सांसद अमृता शाहीले गत ४ महिनाको बजेट कार्यान्वयन हुन नसकेको बताउँदै सरकारले संसदमा पेश गरेको बजेट कार्यान्वयन गर्न चुनौती रहेको बताईन् । उनले सुर्खेतका बाढीपीडितलाई तत्काल छानोमुनि ल्याउन सरकारसँग माग गरिन् ।

सांसद चन्द्रबहादुर शाहीले बजेट सकारात्मक रहेको प्रतिक्रिया दिए । ‘बजेट केही गरिखाला जस्तो गरी आएको छ ’ उनले भने, ‘तर यो बजेटलाई सरकारले कार्यान्वयन गर्न खुट्टा नकमाओस् ।’ सांसद शाहीले संसद गफ गर्ने थलो नभएको बताए । ‘हामीले जनताका आवाज बोल्ने गरेका छौं ।’ उनले भने, ‘संसदले उठाएका हरेक आवाजलाई सरकारले गम्भिरताका साथ लिई कार्यान्वयन गर्न लागोस, संसदले गफ गरेको नठानोस ।’

सांसद शाहीले मध्यपश्चिमाञ्चल विकास क्षेत्र यहि क्षेत्रका नेताहरुका कारण पछि परेको बताउँदै अब कर्णालीको विकास गर्न यहि क्षेत्रका नेताहरुले भूल गर्न नहुने बताए । उनले सरकारले छिन्चु भेरी करिडोर र कर्णाली करिडोरलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

सरकारले पेश गरेको बजेटमाथि विगत ३ दिनदेखि संसदमा सांसदहरुले धारणा राखिरहेका थिए । सांसदहरुको बजेटमाथिको सैदान्तिक छलफल सकिएको छ ।
सांसदहरुले बजेटमाथिको सैद्धान्तिक छलफलमा उठाएका प्रश्नहरुको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जवाफ दिनेछन् । तत्पश्चात बजेटमाथि दफावार छलफल हुने सभामुख राजबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्