आफूलाई एक्लो नठान्नु होला, लपत्र छोड्दैनौंः प्रधानमन्त्री शाह

काठमाडौं, २१ भदौ । प्रधानमन्त्री बालेन शाहले आफूलाई एक्लो नठान्न बाढी प्रभावितहरूलाई आग्रह गरेका छन्।

गएराति सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर प्रधानमन्त्री बालेनले प्रभावितहरूसँगै सरकार रहेकाले भन्दै आफूलाई एक्लो नठान्न अनुरोध गरेका हुन्।

ुआफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौ, हजुरहरूसँग यो राज्य छ, यो सरकार छ,ु प्रधानमन्त्री बालेनले फेसबुकमा लेखेका छन्।

बाढी प्रभावितहरूलाई सरकारले अस्थायी शिविरमा राखेको र त्यहाँ राहत, स्वास्थ्य सेवा र जीवनयापनका लागि आवश्यक सुविधाहरू पुर्‍याइएको उनले बताएका छन्।

अस्थायी बसाइलाई सकेसम्म छोटो बनाइ प्रभावितहरूलाई हरसम्भव छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने पनि प्रधानमन्त्री बालेनले बताएका छन्।

ुहजुरहरूको छातीमा परेको त्यो असीम पीडा, रित्तोपन र आघातलाई हामीले हदृयदेखि महसुस गरेका छौं,ु उनले भनेका छन्।

उनले शनिबार बेत्रावतीबाट ६४ वर्षीय चन्द्रिका श्रेष्ठको १० दिनपछि उद्धार हुँदा सिंगो देशलाई आशा दिएको बताएका छन्। उनको उद्धार सरकार पूरै डटेर लागिरहेका छ भन्ने सन्देश पनि रहेको प्रधानमन्त्री बालेनले बताए।

प्रधानमन्त्री बालेनले आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक रहेको पनि बताएका छन्।

‘एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो। हामीले उहाँहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ। यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ,’ उनले भनेका छन्।

यस्तो छ प्रधानमन्त्री बालेनको भनाइः
आदरणीय आमाबुबाहरु
बाढी प्रभावित क्षेत्र, नुवाकोटको विदुर—१० बेत्रावतीमा आज सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छ।
यो खबर, खोज तथा उद्धारमा हामी अझैँ डटेर लागिरहेका छौँ भन्ने सन्देश पनि हो। यसअघि पनि हामीले चन्द्रिका आमाको उमेर समूहका र त्योभन्दा माथिल्लो उमेरका धेरै आमाबुबाहरूलाई प्रभावित क्षेत्रबाट उद्धार गरिसकेका छौं।

कतिपय आमाबुबाले आफ्नो ज्यानको अलिकति पनि परवाह नगरी, काँपिरहेका हातहरूले नातिनातिनाहरूलाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनुभयो। लौरो नटेकी दुई पाइला सर्न नसक्ने गोडाहरूमा त्यो क्षणमा आफ्ना सन्तान बचाउने अनौठो हिम्मत आयो। बाढीका कारण वृद्धआश्रममा बसिरहनुभएका आमाबुबाहरु समेत भाग्नुपर्यो।

बाढी आउनु अघिसम्म हजुरहरू आफ्नै घरको आँगनमा बसेर नदी किनारामा रहेको खेतबारीमा छोराछोरीले काम गरिरहेको हेरिरहनुभएको थियो होला। बेलाबेला आफैले पनि उहाँहरुलाई सघाउनु हुन्थ्यो होला। नातिनातिनाहरू हात हल्लाउँदै स्कूल गएको हेरिबस्नु हुन्थ्यो होला। उनीहरु आउने पर्खाइमा बाटोमा नजर पनि लगाइरहनु हुन्थ्यो होला। चौतारीमा बसेर छिमेकीहरूसँग वर्षौँको दुःख–सुख, अनुभव र ज्ञान बाँड्नुहुन्थ्यो होला।

अहिले न ती घर आँगन छन्, न त चौतारीमा बसेर दुःख–सुख साट्ने अवस्था नै छ। त्यो बिहान भोटेकोशीको विनाशकारी बाढीले एकैछिनमा धेरै कुरा खोसेर लग्यो। हजुरहरुमध्ये कसैले आफ्नै आँखा अगाडि छोराछोरी र काँधमा हुर्केका नातिनातिना बगेको हेर्न विवश हुनुपर्यो होला१ कसैले जीवनसाथी गुमाएर पूर्णतः एक्लै हुनुपर्यो होला१ हजुरहरुले जिन्दगीभर पसिना बगाएर जोरजाम गरेको घर, खेतबारी र सन्तान सरह माया गरेर हुर्काएका पशुपंक्षी क्षणभरमै बाढीमा बगेर गए।

आफ्नै घरव्यवहार सम्हालिरहनुभएका हजुरहरूलाई अहिले सरकारले व्यवस्था गरेको अस्थायी शिविरहरूमा बस्नु परेको छ। होल्डिङ सेन्टरमा राहत, स्वास्थ्य सेवा र जीवनयापनका लागि आवश्यक सुविधाहरू पुर्‍याइएको छ। नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, विदुर भवन बाढीबाट क्षतिग्रस्त भएको थियो। त्यहाँ रहनुभएकामध्ये ७ जना आमाबुबालाई नेपाल सिनियर केयर म्हैपी काठमाडौंमा, १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिएका छौं। उहाँहरुलाई हिँडडुलका लागि आवश्यक पर्ने ह्वीलचियर तथा वाकर उपलब्ध गराएका छौं। यो उमेरमा परेको मानसिक आघात र शारीरिक कष्ट कम गर्न विशेष टोलीमार्फत निरन्तर स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइरहेका छौं।

अस्थायी बसाइलाई सकेसम्म छोटो बनाइ हजुरहरुलाई हरसम्भव छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउनेछौं। हजुरहरूको छातीमा परेको त्यो असीम पीडा, रित्तोपन र आघातलाई हामीले हदृयदेखि महसुस गरेका छौं। हजुरहरुले आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौं। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ।

आदरणीय आमाबुबाहरू,
हजुरहरूले जीवनमा अनेक घामपानी, खडेरी र आँधीबेहरी पार गर्नुभएको छ। भोटेकोशीको बाढीले हजुरहरुकोे ओत र जायजेथा बगाएको छ, तर हजुरहरुको स्वाभिमान, अनुभव र मार्गदर्शनको अपरिहार्यतालाई बगाउन सकेको छैन। हजुरहरू यो देशका जग र हाम्रा मार्गदर्शक हुनुहुन्छ। कृपया मन दह्रो बनाइदिनुहोस् र हामीलाई परिवारकै सदस्य मानेर सल्लाह र मार्गनिर्देश गर्नुहोस्।

सँगसँगै अर्को दुःखको पाटो पनि छ। बाढीका बेला हामीले धेरै आमाबुबालाई गुमायौं। उहाँहरू सिङ्गो घरको मूल खम्बा, संस्कार र ज्ञानका स्रोत हुनुहुन्थ्यो। आज उहाँहरूको अभावले देश शोकमा छ, हामी उहाँहरूप्रति भावपूर्ण सामूहिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।

साथै, आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक हो। एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो। हामीले उहाँहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ। यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ।
हाम्रा सुरक्षाकर्मीहरू अझै पनि कुनै बहाना नबनाई बाढीपछिको दलदल र खण्डहर बनेका क्षेत्रहरुमा खोस्रिरहेका छन्। उहाँहरुका आँखा चनाखा छन्। आफ्नो ज्यान जोखिममा राखेर खटिएका सुरक्षाकर्मीहरूप्रति हामीले हरेक दिन हृदयदेखि कृतज्ञता व्यक्त गर्नैैपर्छ। उहाँहरुको आत्मबल बढाउनु हाम्रो कर्तव्य हो।

आदरणीय आमाबुबाहरु,
हामीमाथि भरोसा राख्नुहोस्…..।

प्रतिक्रिया दिनुहोस्