अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाइयो

काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस, योग अभ्यास र त्यसको महत्वका बारेमा चर्चा गर्दै नेपालमा पनि मनाइएको छ ।

योग अभ्यासमा काम गर्दै आएका पतञ्जली योगपीठलगायतका संघ–संस्थाले सार्वजनिक रुपमा योग अभ्यास कार्यक्रम सञ्चालन गर्दै बिहीबार चौथो योग दिवस मनाएका छन् । पतञ्जली योगपीठ नेपालले दिवसका सन्र्दभमा नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा गरेको योग अभ्यासमा कार्यवहाक प्रधानमन्त्री इश्वर पोखरेल, नेपालका लागि भारतीय राजदूत मञ्जीव पूरीलगायत विभिन्न तहका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री पोखरेलले विश्वव्यापी रुपमा योगको महत्व बढ्दै गएको परिपेक्षमा मानवता, आध्यात्मिकता, असल विचार र विभेदको अन्त्य गर्दै समतासँग जोडिने अर्थको रुपमा योग दिवसलाई बुझ्नुपर्ने बताए ।

कार्यवहाक प्रधानमन्त्री पोखरेलले योग शिक्षालाई विद्यालय तहमा अझ फराकिलो बनाउँदै स्वस्थ्य नागरिकको विकास गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले नेपाललाई योग केन्द्रको रुपमा विकास गर्दै लैजाने कुरामा पनि सरकारले पहल गर्ने जानकारी दिए ।

कुनै धर्म, संस्कृति र सम्प्रदायसँग जोडेर पनि योगसाधनका बारेमा विभिन्न शंका उप–शंका गर्ने काम भइरहेको भन्दै पोखरेलले भने, वास्तवमा योग कुनै धर्म, संस्कृतिको मात्रै पेवा होइन, पेवा हुन सक्दैन, यो मानव बन्न चाहन्छ, असल बन्न चाहन्छ, सत्यलाई चिन्ह चाहन्छ, विभेदलाई समाप्त पार्न चाहन्छ । यी सबैका लागि अतिउत्तम साधनाको राजमार्ग योग होे ।’

उनले योगका आयामलाई सन्तुलित रुपमा जीवनपद्धती बनाउने कार्यमा दिवशले पे्ररणा दिने विश्वास पनि व्यक्त गरे । उनले आफैलाई आफैले बुझ्ने परम साधनको रुपमा योग साधनलाई बुझ्नुपर्ने बताए ।

सन् २०१४ मा संयुक्त राष्ट्रसंघको ६९ औं महासभाले जुन २१ को दिनलाई अन्र्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन भारतले गरेको प्रस्तावलाई अत्याधिक बहुमतले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो । भारतको यो प्रस्तावलाई १ सय ७५ सदस्य राष्ट्रले अनुमोदन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्