नेशनल माइक्रोफाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ७० लाख आर्थिक सहयोग प्रदान
काठमाडौं, १८ भदौ। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी बाढीपहिरो प्रभावितका लागि ७० लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।
भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीपहिरोबाट विपत् प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ७० लाख (अक्षरेपी सत्तरी लाख ) रुपैयाँ सहयोग प्रदान गरेको हो ।
हालैको प्राकृतिक विपद्का कारण देशका विभिन्न जिल्लाहरू, विशेषगरी रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट भएको मानवीय एवं भौतिक क्षतिप्रति संस्थाले गहिरो दुःख व्यक्त समेत व्यक्त गरेको छ ।
संस्थाका सदस्यहरू, सदस्यका परिवारजन, कर्मचारी तथा निजका परिवारजन लगायत अन्य सरोकारवाला एवं सर्वसाधारणले भोग्नुपरेको क्षति, पीडा र कठिनाइप्रति संस्थाले गहिरो दुःख प्रकट गरेको ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले प्राकृतिक विपद्का कारण सम्पर्कविहीन भएका सर्वसाधारण, प्रभावित परिवार, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी एवं अन्य विभिन्न संघ/संस्थामा कार्यरत जनशक्तिले व्यहोर्नुपरेको कठिन परिस्थितिप्रति समेत संस्थाले हार्दिक सहानुभूति व्यक्त गरेको छ ।
संस्थाका सदस्य तथा ग्राहकहरुका लागि विशेष प्याकेज घोषणा गर्ने प्रमुख कार्यकरी अधिकृत यादवले बताए ।
अर्थमन्त्री डा.स्वर्णीम वाग्लेमार्फत गरेको सो रकम हस्तान्तरण कार्यक्रममा सञ्चालकद्वय प्रदिप कुमार रेग्मी, नरेन्द्र छत्कुली र संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवको उपस्थिति थियो ।
यो रकम लघुवित्त क्षेत्रकै हालसम्मको ठूलो रकम हो । संस्थाले यसबाहेक पीडित ग्राहक सदस्यका लागि छुट्टै आर्थिक सहयोग समेत प्रदान गर्ने सीईओ यादवले जानकारी दिए ।







प्रतिक्रिया दिनुहोस्