मेरोमाइक्रोफाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि १४ लाख ५५ हजार सहयोग प्रदान
काठमाडौं, १८ भदौ। मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावितका लागि १४ लाख ५५ हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारबाट समेत राहत तथा सहयोगका लागि आह्वान भइरहेको सन्दर्भमा, संस्थाको निर्णय अनुसार संस्था तथा संस्थामा कार्यरत कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. १४,५५,००० (अक्षरेपी चौध लाख पचपन्न हजार) सहयोग प्रदान गरेको हो ।
भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीपहिरो प्रभावितका राहत तथा सहयोग पुर्याउने उदेश्यले आर्थिक सहयोग प्रदान गरेको कम्पनीले जनाएको छ ।
हालैको प्राकृतिक विपद्का कारण देशका विभिन्न जिल्लाहरू, विशेषगरी रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको मानवीय एवं भौतिक क्षतिप्रति संस्थाले गहिरो दुःख व्यक्त समेत व्यक्त गरेको छ ।
यस दुःख तथा अकल्पनीय प्राकृतिक विपत्तिमा परी जीवन गुमाउनुहुने सम्पूर्ण नागरिकहरूप्रति संस्थाको सञ्चालक समिति, व्यवस्थापन तथा समस्त कर्मचारी परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
उक्त प्राकृतिक विपद्का कारण संस्थाको केन्द्रीय कार्यालय, बट्टार, नुवाकोट सहित ५ वटा शाखा कार्यालयहरू समेत प्रत्यक्ष रूपमा प्रभावित भएको संसथाले जनाएको छ । । यसबाट संस्थाका सदस्यहरू, सदस्यका परिवारजन, कर्मचारी तथा निजका परिवारजन लगायत अन्य सरोकारवाला एवं सर्वसाधारणले भोग्नुपरेको क्षति, पीडा र कठिनाइप्रति संस्थाले गहिरो दुःख प्रकट गरेको । यस विषम परिस्थितिमा प्रभावित परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् तथा विपद्बाट प्रभावित सबैको जीवनयापन यथाशीघ्र सामान्य अवस्थामा फर्कियोस् भनी कामना गरेकोछ ।
प्राकृतिक विपद्का कारण सम्पर्कविहीन भएका सर्वसाधारण, प्रभावित परिवार, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी एवं अन्य विभिन्न संघ/संस्थामा कार्यरत जनशक्तिले व्यहोर्नुपरेको कठिन परिस्थितिप्रति समेत संस्थाले हार्दिक सहानुभूति व्यक्त गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले जानकारी दिनुभयो ।
यस विषम परिस्थितिमा विपद् प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सक्रिय रूपमा खटिनुभएका नेपाल सरकार, स्थानीय तह, सुरक्षा निकाय, विभिन्न संघ(संस्था, स्वयंसेवक तथा सम्पूर्ण सहयोगी हातहरूप्रति संस्था हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ ।


प्रतिक्रिया दिनुहोस्