भोटेकोशी बाढीबाट एनसेलको ९ करोडभन्दा बढीको क्षतिको अनुमान, , ३ लाख ग्राहकलाई निःशुल्क दूरसञ्चार सेवा प्रदान
काठमाडौं, १८ भदौ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । प्रारम्भिक आकलन अनुसार रसुवाको टिमुरेमा रहेको एउटा मोबाइल टावर र ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबर लाइन पूर्णरुपमा क्षति हुँदा कम्पनीलाई ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक हानि भएको छ ।
भौतिक क्षति भए तापनि संकटको यस घडीमा एनसेलले प्रभावित क्षेत्रका ग्राहकहरूका लागि राहतस्वरूप निःशुल्क दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी(पहिरो प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहकहरूले यो सेवाबाट लाभ उठाइरहेका छन् । कम्पनीले बुधबारदेखि नै निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराएको हो ।
सुरुमा तीन दिनका लागि उपलब्ध गराइएको यो निःशुल्क सेवाको अवधि शनिबारदेखि थप सात दिनका लागि बढाइएको छ । बाढी आउनुअघिको सात दिनमा ती क्षेत्रमा सक्रिय रहेका ग्राहकहरू यो सेवाका लागि योग्य हुने कम्पनीले जनाएको छ । आइतबारसम्ममा ग्राहकहरूले प्रयोग गरेको निःशुल्क सेवाको मूल्य १ करोड रुपैयाँ नाघिसकेको छ ।
बाढी र पहिरोका कारण नुवाकोट, रसुवा र धादिङमा एनसेलका २७ वटा टावरहरू प्रभावित भएका थिए । प्राविधिकहरूको निरन्तरको प्रयासपछि २७ मध्ये २४ वटा टावरहरू पुनः सञ्चालनमा आइसकेका छन् ।
बाँकी तीनवटा टावरमध्ये रसुवाको घट्टेखोला र टिमुरेको टावर पूर्ण रूपमा क्षति भएको छ भने नुवाकोटको त्रिशूली ९बिदुर० र रसुवाको तिरुमा रहेको टावर मर्मत गरी सञ्चालनमा ल्याउन प्राविधिकहरू फिल्डमा खटिएका छन् ।
संकटको समयमा सञ्चार सम्पर्क विच्छेद नहोस् भन्ने उद्देश्यले एनसेलले ब्यालेन्स नभएर वा अन्य कारणले एकतर्फी वा पूर्णरुपमा बन्द भएका २५ हजारभन्दा बढी सिमकार्डहरू पुनः सक्रिय गरिदिएको छ ।
यस्ता ग्राहकहरूले पनि कम्पनीले उपलब्ध गराएको निःशुल्क सेवा प्राप्त गरेका छन्, जसले गर्दा उनीहरूलाई परिवारसँग सम्पर्क गर्न र उद्धार एवं राहतका लागि सहयोग माग्न सहज भएको छ ।
एनसेलले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा जनचेतनामुलक कल टोन र एसएमएसहरू पनि सम्प्रेषण गरिरहेको छ ।
कम्पनीले सामाजिक सञ्जालमा विभत्स फोटो तथा भिडियोहरू पोस्ट नगर्न र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्दा आधिकारिक माध्यम मात्र प्रयोग गर्न ग्राहकहरूलाई आग्रह गरेको छ ।
दूरसञ्चार पूर्वाधारमा पुगेको क्षतिका बाबजुद एनसेलले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रभावित क्षेत्रमा सञ्चार सेवा सुनिश्चित गर्न प्राथमिकता दिइरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्