लघुबिमा किन लोकप्रिय हुन सकेन ? समस्या कहाँ छ ?

प्रमोदकुमार घिमिरे: नेपालमा वित्तीय समावेशीकरणको चर्चा गर्दा बैंक खाता, बचत, कर्जा र डिजिटल भुक्तानीको पहुँचलाई उपलब्धिका रूपमा प्रस्तुत गरिन्छ । तर आर्थिक जोखिमबाट सुरक्षित हुने अधिकार अझै पनि ठूलो जनसंख्याका लागि कमजोर छ । विशेषगरी न्यून आय भएका परिवार, साना किसान, श्रमिक, स्वरोजगार तथा ग्रामीण समुदायका लागि एउटा दुर्घटना, रोग, आगलागी, बाढी–पहिरो वा पशुधनको क्षतिले वर्षौंको आर्थिक प्रगति उल्ट्याउन सक्छ । यस्तो जोखिमबाट सुरक्षा दिने उद्देश्यले विकसित गरिएको लघुबिमा भने अपेक्षित रूपमा लोकप्रिय हुन सकेको छैन ।

नेपालमा लघुबिमाको संस्थागत विकास नयाँ होइन । नेपालमा लघुबिमाको नियामकीय सुरुवात सन् २०१४ को लघुबिमा निर्देशनबाट भएको थियो । सन् २०२३ पछि छुट्टै लघुबिमा कम्पनी स्थापना गर्ने कानुनी आधार बनेको र २०२५ जुनसम्म सातवटा स्ट्यान्डअलोन लघुबिमा कम्पनी सञ्चालनमा आएको देखिन्छ । तर संरचना विस्तार हुँदैमा बजारमा विश्वास, पहुँच र प्रभावकारिता स्वतः विस्तार हुँदैन ।

“विशेषगरी न्यून आय भएका परिवार, साना किसान, श्रमिक, स्वरोजगार तथा ग्रामीण समुदायका लागि एउटा दुर्घटना, रोग, आगलागी, बाढी–पहिरो वा पशुधनको क्षतिले वर्षौंको आर्थिक प्रगति उल्ट्याउन सक्छ । यस्तो जोखिमबाट सुरक्षा दिने उद्देश्यले विकसित गरिएको लघुबिमा भने अपेक्षित रूपमा लोकप्रिय हुन सकेको छैन ।” 

तथ्यांकले के भन्छ ?

पछिल्लो तथ्यांक हेर्दा लघुबिमाको बजार पूर्ण रूपमा निष्क्रिय भने छैन । पछिल्लो तथ्यांक अनुसार २०८३ असारसम्म करिब ५५ लाख ७८ हजार लघु जीवन बीमालेख र ५ लाख ११ हजार लघु निर्जीवन बीमालेख जारी भएका छन् । तर यी तथ्यांकलाई सतही रूपमा हेरेर ‘लघुबिमा लोकप्रिय भयो’ भन्न मिल्दैन । पोलिसीको संख्या र वास्तविक सक्रिय बीमितबीच फरक हुन सक्छ । दोहोरो बीमालेख, नवीकरणको अवस्था, कर्जा वा अन्य सेवासँग जोडिएको बीमा र लक्षित वर्गभन्दा बाहिर पुगेका बीमालेखलाई समेत विश्लेषण गर्नुपर्ने हुन्छ । यसैले मुख्य प्रश्न “लघुबिमा कति विस्तार भयो ?” होइन, “लघुबिमाले लक्षित वर्गको वास्तविक जोखिम कति सम्बोधन ग¥यो ?” भन्ने हो ।

पहिलो समस्या : बीमाको आवश्यकता महसुस नहुनु
लघुबिमा लोकप्रिय नहुनुको पहिलो कारण बीमाको आवश्यकता सम्बन्धी चेतनाको कमी हो । न्यून आय भएका परिवारका लागि दैनिक उपभोग, शिक्षा, स्वास्थ्य, ऋणको किस्ता र अन्य आधारभूत खर्च प्राथमिकतामा हुन्छन् । भविष्यमा हुन सक्ने जोखिमका लागि आज प्रिमियम तिर्नु उनीहरूका लागि तत्काल प्रतिफल नदिने खर्चजस्तो लाग्न सक्छ । तर यही सोचमा लघुबिमाको मूल चुनौती लुकेको छ । बीमा आवश्यक नहुने होइन; जोखिमको लागत तत्काल नदेखिने भएकाले यसको मूल्य बुझाउन कठिन भएको हो । पछिल्लो अध्ययनले पनि ग्राहकका लागि बीमाको लागत, विश्वासको समस्या र वितरण संयन्त्र प्रमुख चुनौतीका रूपमा औंल्याएको छ ।

दोस्रो समस्या:  उत्पादन ग्राहककेन्द्रित छ कि कम्पनीकेन्द्रित ?
लघुबिमाको अर्को महत्वपूर्ण समस्या उत्पादन विकाससँग सम्बन्धित छ । न्यून आय भएका ग्राहकका लागि बनाइएको बीमा उत्पादन सरल, सस्तो र उनीहरूको वास्तविक जीवनसँग सम्बन्धित हुनुपर्छ ।
तर कतिपय अवस्थामा बीमा उत्पादन कम्पनीको प्रशासनिक आवश्यकता, उपलब्ध संरचना वा बिक्री लक्ष्यअनुकूल बढी देखिन्छन्; ग्राहकको वास्तविक जोखिमअनुकूल कम । किसानका लागि कृषि तथा पशुधन जोखिम, साना उद्यमीका लागि व्यवसाय जोखिम, श्रमिकका लागि दुर्घटना तथा आम्दानी सुरक्षा र विपन्न परिवारका लागि स्वास्थ्य तथा जीवन जोखिमलाई समेट्ने लचिलो उत्पादन आवश्यक हुन्छ । पछिल्लो अध्ययनले पनि पर्याप्त बजार अनुसन्धान र आवश्यकता पहिचानपछि मात्र उपयुक्त लघुबिमा उत्पादन विकास गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

तेस्रो समस्या : प्रिमियम सानो भए पनि ग्राहकका लागि ठूलो हुन सक्छ
लघुबिमाको नामले नै ‘सानो बीमा’ भन्ने बुझिए पनि न्यून आय भएका परिवारका लागि सानो प्रिमियम पनि महत्वपूर्ण हुन सक्छ । मासिक आम्दानी सीमित भएको परिवारले दैनिक आवश्यकता र भविष्यको जोखिमबीच छनोट गर्नुपर्दा बीमाको प्राथमिकता पछाडि पर्न सक्छ ।
त्यसैले ‘कम प्रिमियम’ मात्र पर्याप्त छैन । बीमाको मूल्य ग्राहकको भुक्तानी क्षमता र आम्दानीको चक्रसँग मिल्नुपर्छ । किसानका लागि वार्षिकभन्दा मौसमी भुक्तानी, श्रमिकका लागि आम्दानीअनुकूल किस्ता तथा अत्यन्त न्यून आय भएका परिवारका लागि सरकार वा स्थानीय तहसँग सहकार्यमा प्रिमियम सहायता जस्ता विकल्प खोज्न सकिन्छ । सरकारी अनुदानमा आधारित कार्यक्रमका लागि बजेटीय सीमितता र अनुदान वितरणमा हुने ढिलाइ पनि चुनौती बन्न सक्ने प्राधिकरणको अध्ययनले देखाएको छ ।

चौथो समस्या: वितरण प्रणाली कमजोर हुनु
बीमा कम्पनीको शाखा सहरमा हुनु र लक्षित ग्राहक गाउँमा हुनु आफैंमा ठूलो चुनौती हो । लघुबिमा बिक्री गर्न परम्परागत शाखा विस्तार मात्र गर्दा यसको लागत उच्च हुन सक्छ । यही कारण लघुबिमाको वितरणमा लघुवित्त संस्था, सहकारी, महिला समूह, किसान समूह, स्थानीय तह तथा समुदायमा आधारित संस्थाहरूसँग सहकार्य गर्न सकिन्छ । यस्ता संस्थाहरूले ग्राहकको विश्वास र स्थानीय पहुँच दुवै प्रदान गर्न सक्छन् ।
नेपाल बीमा प्राधिकरणले पनि समुदायमा आधारित वितरण संयन्त्र तथा सहकारी र महिला समूहसँगको साझेदारीलाई प्रभावकारी विकल्पका रूपमा औंल्याएको छ । तर वितरणमा सहकार्य गर्दा एउटा जोखिम पनि छ की बीमा ग्राहकको आवश्यकता पूरा गर्ने साधनभन्दा ‘बिक्री लक्ष्य’ पूरा गर्ने माध्यम बन्नु हुँदैन ।

पाँचौँ समस्या: दाबी भुक्तानीप्रतिको विश्वास
बीमाको लोकप्रियता निर्धारण गर्ने सबैभन्दा महत्वपूर्ण तत्व विश्वास हो । ग्राहकले ‘प्रिमियम तिर्ने तर दाबी पर्दा पैसा पाइँदैन’ भन्ने धारणा राखे भने कुनै पनि प्रचार अभियानले बीमाको बजार विस्तार गर्न सक्दैन । विशेषगरी ग्रामीण तथा न्यून आय भएका ग्राहकका लागि दाबी प्रक्रिया जटिल हुनु, धेरै कागजात आवश्यक पर्नु, प्रमाणीकरणमा समय लाग्नु वा बीमालेखका बहिष्करण बुझ्न नसक्नुले अविश्वास पैदा गर्न सक्छ ।
त्यसैले लघुबिमाको वास्तविक मार्केटिङ विज्ञापन होइन, छिटो र निष्पक्ष दाबी भुक्तानी हो । एउटा परिवारले कठिन अवस्थामा सहज रूपमा बीमा रकम पायो भने त्यो अनुभवले समुदायका दर्जनौँ परिवारलाई बीमाप्रति सकारात्मक बनाउन सक्छ ।

छैटौँ समस्या: वित्तीय तथा बीमा साक्षरताबीचको अन्तर
नेपालमा बैंक खाता र डिजिटल कारोबार बढे पनि बीमा साक्षरता त्यही गतिमा बढेको छैन । धेरै ग्राहकले बीमालाई बचत, लगानी वा सरकारी राहतसँग एउटै रूपमा बुझ्ने सम्भावना हुन्छ । ग्राहकलाई बीमाले के कभर गर्छ, के गर्दैन, प्रिमियम किन तिर्नुपर्छ, दाबी कसरी गर्ने र कुन अवस्थामा दाबी अस्वीकृत हुन सक्छ भन्ने स्पष्ट जानकारी दिनुपर्छ । यसका लागि वित्तीय साक्षरतालाई केवल ‘बीमा गरौँ’ भन्ने प्रचारमा सीमित नगरी व्यावहारिक बीमा शिक्षामा परिवर्तन गर्नुपर्छ ।

सातौँ समस्या: जलवायु जोखिम बढ्दै छ, तर उत्पादन पर्याप्त गतिशील छैन
नेपालमा बाढी, पहिरो, डढेलो, खडेरी तथा अन्य प्राकृतिक विपद्का कारण साना किसान र ग्रामीण व्यवसायमा जोखिम बढिरहेको छ । विडम्बना के छ भने जोखिम बढिरहेका वर्गमै बीमाको पहुँच तुलनात्मक रूपमा कमजोर रहन्छ ।
लघुबिमाले कृषि, पशुधन, साना व्यवसाय, घर तथा विपद् जोखिमलाई समेट्ने नवीन उत्पादन विकास गर्नुपर्ने आवश्यकता छ । मौसममा आधारित बीमा, सूचकांकमा आधारित बीमा र विपद् जोखिम हस्तान्तरणका नयाँ मोडल प्रयोग गर्न सकिन्छ । यसले लघुबिमालाई केवल बीमा व्यवसाय होइन, जलवायु अनुकूलन र आर्थिक पुनःस्थापनाको उपकरणका रूपमा विकास गर्न सक्छ ।

आठौँ समस्या: डिजिटल प्रविधि पुगे पनि डिजिटल विश्वास पुगेको छैन
मोबाइल बैंकिङ र डिजिटल भुक्तानीले लघुबिमाको लागत घटाउने ठूलो सम्भावना राख्छ । मोबाइलबाट प्रिमियम भुक्तानी, डिजिटल पोलिसी, ई–केवाईसी र डिजिटल दाबी दर्ताले ग्रामीण ग्राहकलाई सेवा सहज बनाउन सक्छ ।
तर डिजिटल प्रविधि मात्र समाधान होइन । डिजिटल साक्षरता कमजोर भएका ग्राहकलाई प्रणाली बुझाउन नसक्दा नयाँ प्रकारको बहिष्करण उत्पन्न हुन सक्छ । त्यसैले डिजिटल सेवा र स्थानीय मानवीय सहयोगलाई सँगसँगै लैजानुपर्छ ।

समस्या कम्पनीमा मात्र छैन
लघुबिमा लोकप्रिय नहुनुको दोष बीमा कम्पनीलाई मात्र दिनु उचित हुँदैन । ग्राहक, कम्पनी, सरकार, नियामक र वितरण संयन्त्र सबैको भूमिका छ । कम्पनीले ग्राहककेन्द्रित उत्पादन र प्रभावकारी दाबी सेवा दिनुपर्छ । सरकारले आवश्यक क्षेत्रमा लक्षित तथा समयमै अनुदान दिनुपर्छ । नियामकले ग्राहक संरक्षण र कम्पनीको वित्तीय स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ ।
वितरण साझेदारले पारदर्शी रूपमा सेवा दिनुपर्छ । र ग्राहकले पनि बीमालाई अनावश्यक खर्चका रूपमा मात्र नहेरी जोखिम व्यवस्थापनको साधनका रूपमा बुझ्नुपर्छ । नियामकका लागि ग्राहक अधिकार संरक्षण र बीमकको आर्थिक सक्षमता बीच सन्तुलन कायम गर्नु चुनौतीपूर्ण रहेको छ ।

अब के गर्ने ?
लघुबिमालाई लोकप्रिय बनाउन ठूलो प्रचार अभियानभन्दा विश्वास निर्माणको रणनीति आवश्यक छ ।
पहिलो, ग्राहकको वास्तविक आवश्यकता र भुक्तानी क्षमतामा आधारित उत्पादन विकास गर्नुपर्छ ।
दोस्रो, कागजी तथा प्रशासनिक प्रक्रिया घटाएर दाबी भुक्तानी सरल बनाउनुपर्छ ।
तेस्रो, सहकारी, लघुवित्त, स्थानीय तह, किसान तथा महिला समूहसँग जिम्मेवार वितरण साझेदारी बढाउनुपर्छ ।
चौथो, डिजिटल माध्यमबाट प्रिमियम, पोलिसी र दाबी सेवा सहज बनाउनुपर्छ ।
पाँचौँ, बीमा साक्षरतालाई विद्यालय, समुदाय, वित्तीय संस्था र स्थानीय तहसम्म पु¥याउनुपर्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा, लघुबिमाको सफलता मापन गर्ने सूचक नै परिवर्तन गर्नुपर्छ । पोलिसी संख्या र प्रिमियम मात्र होइन, कति लक्षित परिवार बीमित भए, कति दाबी समयमै भुक्तानी भयो, ग्राहक सन्तुष्टि कस्तो छ र जोखिमपछि परिवारलाई आर्थिक पुनःस्थापनामा कति सहयोग पुग्यो भन्ने आधारमा यसको प्रभाव मूल्यांकन हुनुपर्छ ।

लघुबिमा लोकप्रिय हुन नसकेको समस्या बीमा आवश्यक नभएर होइन; बीमा र लक्षित ग्राहकबीच विश्वास, मूल्य, पहुँच र आवश्यकता जोड्ने पुल अझै कमजोर भएर हो । नेपालमा लघुबिमाको संस्थागत आधार विस्तार भएको छ । सातवटा स्ट्यान्डअलोन लघुबिमा कम्पनी सञ्चालनमा आउनु र लाखौँ लघु बीमालेख जारी हुनु यसको बजार सम्भावनाको संकेत हो । तर बजार विस्तारलाई सामाजिक तथा आर्थिक प्रभावमा रूपान्तरण गर्न अझै धेरै काम गर्नुपर्ने देखिन्छ ।

– लेखक घिमिरे लघुवित्त समाज नेपालका महासचिव हुन् ।

प्रतिक्रिया दिनुहोस्