पोखरामा सडकमै आएको भेलले बगाउँदा आमा छोरीको मृत्यु

काठमाडौं, १३ भदौ। कास्कीको पोखरामा सडकमै आएको भेलले बगाउँदा आमा(छोरीको मृत्यु भएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार वर्षापछि सडकको नालीमा आएको भेलले बगाउँदा पोखरा महानगरपालिका-३० ढुंगेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षकी छोरी रानीको मृत्यु भएको हो ।

शुक्रबार साँझ ग १३ प २८५९ नम्बरको स्कुटरमा उनीहरू बिरौटादेखी पृथ्वीचोक तर्फ आउँदै थिए । स्कुटरलाई सडकमा साइड लगाइ झर्ने क्रममा बालिका रानीलाई भेलले एक्कासि बगाएर नालीमा पुर्‍याएको थियो ।

बरालले अनलाइनखबरसँग भने, ‘बालिकालाई बचाउने प्रयासमा आमा सुष्मा पनि नालीमा पुगेकी थिइन् । सो क्रममा भेलले आमाछोरी दुवैलाई बगाउँदै करिब दुई किलोमिटर तल बिरौटासम्म पुर्‍याएको थियो ।’

पोखरा–१७ बिरौटास्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी उनीहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएका थियो ।

उपचारका क्रममा आमाको शुक्रबार राति र छोरीको आज बिहान मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्