रसुवा र नुवाकोट जिल्लाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना सम्पर्कविहीन
काठमाडौं, १२ भदौ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोट जिल्लाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना सम्पर्कविहीन भएका छन्।
बाढीले निर्माणाधीन र सञ्चालनमा रहेका १३ वटा आयोजनामा क्षति पुर्याएको छ, जसमध्ये ११ वटा आयोजनाका कामदार तथा कर्मचारीहरू सम्पर्कविहीन अवस्थामा रहेको स्वतन्त्र उर्जा उत्पादक संघले जनाएको छ ।
रसुवा ७३० जना सम्पर्क बाहिर
प्राप्त तथ्यांकअनुसार बाढीबाट सबैभन्दा बढी रसुवा जिल्लाका जलविद्युत् आयोजनाहरू प्रभावित भएका छन्। रसुवाका ६ वटा आयोजनामा गरी जम्मा ७३० जना सम्पर्कविहीन छन्।
निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा मात्रै ५७६ जनाको अवस्था अज्ञात छ।
त्यसैगरी, सञ्चालनमा रहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना, २० मेगावाटको लाङटाङ खोलाका ४२ जना, २२ मेगावाटको चिलिमेका ८ जना र ५ मेगावाटको मैलुङ खोलाका ७ जना सम्पर्कविहीन भएका छन्। निर्माणाधीन १२० मेगावाटको रसुवा–भोटेकोशीका ४ जना पनि सम्पर्क बाहिर छन्।
नुवाकोटमा २०४ जना सम्पर्कविहीन
नुवाकोट जिल्लाका प्रमुख जलविद्युत् आयोजनाहरूमा पनि बाढीले ठूलो असर गरेको छ। त्यहाँका ५ वटा आयोजनामा गरी २०४ जना सम्पर्कविहीन रहेका छन्।
सबैभन्दा बढी निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी मा १५८ जना सम्पर्कविहीन छन्।
त्यस्तै, सञ्चालनमा रहेको ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए का ४२ जना, निर्माणाधीन मिडल त्रिशूली गंगाका २ जना, त्रिशूली जलविद्युत् आयोजनाका १ जना र देवीघाट जलविद्युत्का १ जना पनि सम्पर्कमा आउन सकेका छैनन्।
२५४ जनाको उद्धार, तत्काल हेलिकप्टरको आवश्यकता
सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। हालसम्म माथिल्लो त्रिशुली–१ आयोजनाका २५४ जनाको मात्र सकुशल उद्धार गर्न सकिएको छ।
बाढीले सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध पारेका कारण लाङटाङ, माथिल्लो त्रिशुली–१, माथिल्लो त्रिशुली–३ए र चिलिमे जलविद्युत् आयोजनामा फसेकाहरूको तत्काल उद्धार गर्नुपर्ने अवस्था छ।




प्रतिक्रिया दिनुहोस्