ठेकेदारको कारण ६ लेनको व्यापारिक मार्ग प्रभावित

वीरगञ्ज । पथलैयादेखि परवानीपुर हुँदै एकीकृत जाँच चौकी (आइसिपी) सम्म २७ किलोमिटर छ लेनको व्यापारिक मार्ग ठेकेदारको लापर्बाहीका कारण समयमा पूरा हुन नसक्ने भएको छ ।

व्यापारिक मार्ग विस्तार आयोजना, वीरगञ्ज(पथलैया कार्यालयका अनुसार सो सडक निर्माणको क्रम अगाडि बढिसके पनि ठेकेदारको ढिलासुस्ती तथा बजेटको अभाव, निर्माण सामग्रीको अभाव, विनियोजित बजेट खर्च भइसके पनि थप बजेट नआएको कारण समयमा पूरा हुन नसक्ने भएको हो ।

पथलैया–वीरगञ्ज औद्योगिक करिडोरदेखि आइसिपीसम्म सरकारले २०७३ असार २९ देखि निर्माण शुरु गरेको सो व्यापारिक मार्ग २०७५ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएपनि जीतपुर बजारवासीले समयमा सो सडक खाली नगर्दा योजनाको काम प्रभावित हुने सम्भावना बढेर गएको हो ।

जीतपुर बजारवासीलाई सडक क्षेत्रमा पर्ने घरटहरा तथा भौतिक संरचना भत्काउन जेठ १५ को म्याद दिए पनि अटेर गरेकाले सो व्यापारिक मार्ग निर्माण कार्य अगाडि बढ्न नसकेको आयोजनाका इञ्जिनियर तथा सूचना अधिकारी सौम्या आनन्दले बताए ।

नेपाल सरकारको रू। पाँच अर्ब ५० करोडको लागतमा निर्माण भइरहेको सो व्यापारिक मार्ग क्षेत्रमा रू। एक अर्बको लागतमा तीन ओटा पुल निर्माण हुने इञ्जिनियर आनन्दले बताए ।

पहिलो चरणको योजनाअनुसार छ लेन सडक त्रिभुवन राजपथमा पर्ने पर्साको लिपनीविर्ताको परवानीपुरदेखि नयाँ बाइपास हुँदै अलौस्थित आइसिपीमा जोडिएको छ ।

बाराको जीतपुर-सिमरा उपमहानगरपालिका–७ मा रहेको जीतपुर बजारको २५ मिटरभित्रको संरचना हटाउन सडक विभागले चासो बढाएपछि जीतपुरवासी त्रसित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्