अटोमोबाइल क्षेत्रको दिगो विकासका लागि स्थिर कर नीति अवलम्बनसँगै हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ: अध्यक्ष उप्रेती

काठमाडौं, ९ भदौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकासका लागि सरकारले स्थिर कर नीति अवलम्बनसँगै हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताएका छन्।

नाडा अटो शो २०२६ को उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष उप्रेतीले सरकारलाई कर नीतिमा स्थिरता कायम गर्न व्यवसायीले पटकपटक सुझाव दिइएको र हर्ने दसष्टिकोण पनि बदल्न आग्रह गरेकोले अब त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन आग्रह गरे ।

उनले अटोमोबाइल क्षेत्रलाई केवल राजस्व संकलनको माध्यमका रूपमा नहेरी आर्थिक गतिविधि विस्तार गर्ने महत्वपूर्ण साझेदारका रूपमा लिन सरकारसँग आग्रह गरे।

‘सरकारले आगामी दिनमा कर नीतिमा स्थिरता कायम गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ,’ उनले भने, ‘यसलाई व्यवहारमा उतार्न सके नेपालको व्यावसायिक वातावरण अझ विश्वसनीय बन्नेछ।’

उप्रेतीले सवारीसाधनलाई विलासिताको वस्तुका रूपमा मात्रै हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आवश्यक रहेको बताए। सवारीसाधन नागरिकको आवागमनसँगै व्यवसाय र रोजगारीसँग जोडिएको आवश्यकता बनिसकेको भन्दै उनले कर नीतिलाई उपभोक्तामैत्री र व्यावहारिक बनाउनुपर्ने जोडदिए ।

अटोमोबाइल क्षेत्र उद्योग, व्यापार, बैंकिङ, बिमा र रोजगारीसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै उनले यस क्षेत्रमा ठूलो लगानी रहेको बताए। उनका अनुसार अटोमोबाइल क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० लाखभन्दा बढीलाई रोजगारी दिएको छ भने राज्यको राजस्वमा वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी योगदान गर्दै आएको छ।

विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगलाई नेपालका लागि नयाँ अवसरका रूपमा उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिए। नेपालमै सवारीसाधन एसेम्बलिङसँगै कम्पोनेन्ट उद्योगको विकास आवश्यक रहेको भन्दै उनले त्यस्ता उद्योगलाई सरकारले विशेष सहुलियत उपलब्ध गराउनुपर्ने बताए । यसले नेपालको अटो क्षेत्रलाई व्यवसायी करण गर्न आवश्क रहेको बताए । यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धेरै नागरिकलाई रोजगार दिएकोले यसको क्षेत्र अझ फराकिलो बनाउन आबश्यक नीति परिवर्तन गर्न पनि सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्