पलाञ्चोक भगवतीको मूर्तिमा पसिना, अनिष्टको संकेत, तान्त्रिक विद्याबाट क्षमा पूजा
काठमाडौं, ७ भदौ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आएको छ । देशमा अनिष्टको संकेत गरेको छ ।
शनिबार साँझको आरती गर्ने बेलामा भगवतीको मूर्तिमा पसिना देखिएको हो । देशमा कुनै दैवी विपत्ति तथा राजनीतिक संकट आउन लाग्यो भने भगवतीको मूर्तिमा विभिन्न संकेत देखिनुको साथै मूर्तिमा पसिना आउने गरेको मन्दिर व्यवस्थापन उपसमितिको पूर्व संयोजक किरण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार देशमा आउने दैवी प्रकोप या राजनीतिक संकटको बेलामा जहिल्यै भगवतीको मूर्तिमा पसिना आउने गरेको छ ।
भगवतीको मूर्तिमा गतसाल जेनजी आन्दोलन ताका, २०८१ को बाढीपहिरो, २० ७२ सालको भूकम्प, २०५८ सालको दरबार हत्याकाण्ड लगायत १९९० सालदेखि नै पटक(पटक दैवी प्रकोप या राजनीतिक संकटको बेलामा पसिना आउने गरेको थियो ।
पसिना आएपछि मूर्तिलाई नुहाएर तान्त्रिक विद्याबाट क्षमा पूजा गरिएको छ ।
पलाञ्चोक भगवतीको मन्दिर आजभन्दा करिब एक हजार ६५५ वर्ष पहिले अर्थात् इस्वीसंवत् ४२५ सालमा निर्माण भएको हो । पलाञ्चोक भगवतीलाई भगवतीको जेठी दिदीको रूपमा समेत चिनिनेगरेको छ ।
जिल्लाको बुच्चाकोट भन्ने स्थानमा रहेको पलाञ्चोक भगवतीको मूर्ति एक रात स्थानीय बृद्धको सपनामा प्रकट भई आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेको किंवदन्ती छ ।
भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हालको मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र भोलिपल्ट बिहान त्यहाँबाट मूर्तिलाई अन्यत्र लैजाने कोसिस गर्दा मूर्ति त्यहीँ रही बोक्न नसकेपछि स्थानीय ६० घरधुरीले मद्दत गर्दासमेत भगवतीको मूर्ति बोक्न नसकेपछि सोही स्थानमा भगवतीको मूर्ति राखी पूजाआजा गर्दैआएको किंवदन्ती रहेको छ ।
इस्वीसंवत् ४२५ को समयमा कालीगढले दाहिने हातले निर्माण गरेको पलाञ्चोक भगवती, नाला भगवती, देब्रे हातले बनाएको नक्साल भगवती र गोडाले शोभा भगवतीको मूर्ति कुँदिएको किंवदन्ती छ ।
भगवतीका मूर्तिमध्ये सबैभन्दा पुरानो र दाहिने हातबाट निर्माण गरिएको भगवतीको मन्दिर भएकाले पनि अन्य भगवतीमध्ये पलाञ्चोक भगवती बढी चर्चित र गन्तव्यस्थानको रूपमा रहेको पाइन्छ ।
पलाञ्चोक भगवती स्थानमा दर्शनका लागि दर्शनार्थीको भिड लाग्ने गरे पनि विशेष रूपमा दशैंमा नवरात्रिको समय मन्दिरमा हाँस, बोका, राँगा आदिको बलि दिने चलन छ ।
दशैंबाहेक मन्दिरमा वैशाखपूर्णिमा माघे सङ्क्रान्ति, जेठको पूर्णिमालगायतका चाडमा मेला लाग्छ । वैशाख पूर्णिमा र दशैंमा एकादशीको दिन रथ बनाएर मन्दिर घुमाउने चलन छ ।
पृथ्वीनारायणको एकीकरणको समयपछि मन्दिर, पुजारी, गुठियार, दमाइहरूको व्यवस्था भएको किंवदन्ती छ । एकीकरणपछि पुजारीले दैनिक नित्यपूजा गर्ने, पहरीले रथ बोक्नुका साथै दैनिक नित्यपूजाका लागि फूल ल्याउने, कसाइले काटमार गर्ने, कुस्लेले पूजाको समयमा बाजा बजाउनेजस्ता कामको बाँडफाँट भएको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्