हेम बहादुर मल्ल सम्मान २०८१ डा. रामकण्ठ माकजू र २०८२ खनाललाई प्रदान गरिने

काठमाडौं, ५ भदौ । नेपाल जन–प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त  रुपमा प्रदान गरिने प्रतिष्ठित हेम बहादुर मल्ल सम्मान सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याएका दुई विशिष्ट व्यक्तित्वलाई प्रदान गरिने भएको छ ।

कर्पोरेशन/ संघले धुलिखेल अस्पतालको स्थापना तथा सञ्चालनसँगै गुणस्तरीय स्वास्थ्य सेवा र संस्थागत विकासमा महत्वपूर्ण योगदान पुऱ्याएका डा. रामकण्ठ माकजू श्रेष्ठलाई हेमबहादुर मल्ल सम्मान-२०८१ प्रदान गर्ने निर्णय गरेको हो ।

त्यस्तै, सार्वजनिक प्रशासन तथा सार्वजनिक सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याएका रामेश्वरप्रसाद खनाललाई हेमबहादुर मल्ल सम्मान-२०८२ प्रदान गरिने कर्पोरेशन/संघले जनाएको छ ।

सम्मानका लागि व्यक्तित्व छनोट गर्न नेपाल सरकारका पूर्वसचिव तथा नेपाल जनप्रशासन संघका पूर्वअध्यक्ष कृष्ण ज्ञवालीको संयोजकत्वमा सम्मान छनोट समिति गठन गरिएको थियो । समितिको सिफारिसका आधारमा दुवै व्यक्तित्वलाई सम्मान गर्ने निर्णय गरिएको संघले जनाएको छ ।

सम्मान छनोट गर्दा सार्वजनिक सेवामा पुऱ्याएको योगदान, सार्वजनिक जीवनमा पारेको प्रभाव, संस्थागत नेतृत्व तथा विकासमा खेलेको भूमिका र सार्वजनिक सेवाप्रतिको प्रतिबद्धतालाई मुख्य आधार बनाइएको संघले जनाएको छ ।

नेपाल जनप्रशासन संघले साल्ट ट्रेडिङ कर्पोरेशनका पूर्वप्रमुख तथा ख्यातिप्राप्त प्रशासक एवं व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको योगदानको स्मरणमा साल्ट ट्रेडिङ कर्पोरेशनसँगको साझेदारीमा यो सम्मान स्थापना गरेको हो । संघले २०६० सालदेखि सार्वजनिक प्रशासन, व्यवस्थापन, सार्वजनिक वितरण, सार्वजनिक सेवा तथा जनसरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याउने व्यक्तित्वलाई यो सम्मान प्रदान गर्दै आएको छ ।

सम्मानमा रु दुई लाख रुपैयाँ नगद सहित सम्मानपत्र प्रदान गरिनेछ । संघका अनुसार सार्वजनिक सेवामा निष्ठा, व्यावसायिकता, उत्तरदायित्व, संस्थागत नेतृत्व र राष्ट्रहितप्रतिको प्रतिबद्धतालाई प्रोत्साहन गर्नु सम्मानको मुख्य उद्देश्य हो ।

दुवै सम्मान आगामी भदौ ८ गते सोमबार एक समारोहबीच प्रदान गरिनेछ । सम्मान समारोहमा सम्मानित व्यक्तित्वहरूको योगदानसँगै सार्वजनिक सेवासम्बन्धी उनीहरूको अनुभव र दृष्टिकोण प्रस्तुत गरिने संघले जनाएको छ ।

संघले यसअघि यो सम्मानबाट सार्वजनिक प्रशासन, व्यवस्थापन, स्वास्थ्य, शिक्षा, न्याय, कूटनीति, सामाजिक सेवा तथा अन्य सार्वजनिक सरोकारका क्षेत्रमा योगदान पुऱ्याएका २१ जना विशिष्ट व्यक्तित्व सम्मानित गरिसकेका छ ।

प्रतिक्रिया दिनुहोस्