विगतमा आफ्नैले डुबाए, अब पनि त्यस्तै हुँदैछ: सभापति थापा
काठमाडौं, १ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई आफ्नै निकटस्थहरूबाट सतर्क रहन आग्रह गरेका छन् ।
सोमबार सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले देउवाका सहयोगीहरूले नै उनलाई विगतमा डुबाएको र भविष्यमा पनि त्यस्तै हुन सक्ने भन्दै टिप्पणी गरेका हुन् ।
थापाले सभापति देउवाको कार्यशैली र उनलाई घेर्ने समूहप्रति कटाक्ष गरे । ‘देउवा दाइ सभापतिको नेमप्लेट राखिदिएका छन्, त्यसमा मेरो केही गुनासो छ,’ थापाले भने, ‘तपाईंलाई आफ्नै मान्छेले डुबाए र फेरि पनि डुबाउँछन् भन्ने मलाई लाग्छ ।’ उनले देउवालाई सही सल्लाह दिनेभन्दा पनि आफ्नै स्वार्थमा चलाउनेहरू हाबी भएको सङ्केत गरे ।
सर्वोच्च अदालत र निर्वाचन आयोगमा भएका कानुनी बहसहरू एकपक्षीय नभएको थापाले उल्लेख गरे । पार्टीभित्रै पनि फरक–फरक धारणा आएको भन्दै उनले बैठकको सन्दर्भ जोडे।
‘अहिले संस्थापनबाट उपसभापति विश्वप्रकाश शर्मासहितले आफ्नो धारणा राख्नुभयो, अर्कोतर्फबाट निवर्तमान कार्यवाहक सभापति एवं उपसभापति पूर्णबहादुर खड्कासहितले पनि आफ्नो कुरा राख्नुभएको छ’ उनले भने । थापाले पार्टीभित्रको यो बहसलाई स्वाभाविक र जीवन्त लोकतन्त्रको अभ्यासका रूपमा अर्थ्याए ।
थापाले आगामी १५ औँ महाधिवेशनपछि सभापति देउवालाई सम्मानजनक बिदाइ गर्ने आफ्नो योजना पनि सुनाए । उनले देउवालाई अब कार्यकारी भूमिकाभन्दा माथि उठेर अभिभावकीय भूमिकामा देख्न चाहेको बताए।
‘हामी चाहन्छौँ, १५ औँ महाधिवेशनमा शेरबहादुर देउवालाई निवर्तमान सभापतिका रूपमा विशेष अतिथिका रूपमा सम्मान गर्न पाइयोस्’ थापाले आफ्नो प्रस्ताव राख्दै भने।

प्रतिक्रिया दिनुहोस्