विश्वकप २०१८ : इङ्ग्ल्यान्ड, बेल्जियम र स्वीडन विजयी
काठमाडौं । विश्वकप फुटबलअन्तर्गत सोमवार राति भएका खेलमा तीन युरोपेली टोलीहरू( इङ्ग्ल्यान्ड, बेल्जियम र स्वीडन) विजयी भएका छन् ।
इङ्ग्ल्यान्डले ट्युनिसियालाई २–१ गोलले हराउँदा ह्यारी केनले अन्तिम समयमा गरेको गोल निर्णायक बन्न पुग्यो । इङ्ग्ल्यान्डलाई पहिलो गोल गरेर अग्रता दिलाएका केनले खेल समाप्त हुनुअघि थप गरिएको समयमा चर्तुयाइँपूर्वक हेड गरेर आफ्नो टोलीलाई जिताएका थिए ।
‘फल खेलेको’ दण्डस्वरूप इङ्ग्ल्यान्डविरुद्ध पेनाल्टीमा ट्युनिसियाका फेरजानी सासीले बारबारी गोल गरेका थिए ।
इटलीमा सन् १९९० मा भएको विश्वकपमा गेरी लिनेकरले क्यामरूनविरुद्ध इङ्ग्ल्यान्डका लागि दुई गोल गरेका थिए । त्यसयता आफ्नो टोलीका लागि एउटै खेलमा दुई गोल हान्ने केन पहिलो इङ्ग्लिश फुटबल खेलाडी बनेका छन् ।
अब इङ्ग्ल्यान्डले सोमवार भएको खेलमा बेल्जियमसँग ३–० ले पराजित पनामासँग खेल्नेछ । बेल्जियमको जितमा रोमेलु लुकाकुले ६ मिनेटमा दुई गोल हानेका थिए ।
विश्व फुटबल वरियतामा ५५ औँ स्थानमा रहेको पनामाले खेलको पहिलो(हाफ)मा बेल्जियमलाई गोलरहित बराबरीमा रोकेको थियो । बेल्जियमले विश्वकप फुटबलका आफ्ना पछिल्ला १० वटा समूह चरणका खेलमा एउटामा पनि हारेको छैन ।
सोमवारकै अर्को खेलमा स्वीडनले दक्षिण कोरियालाई १–० गोल अन्तरले हराएको छ । स्वीडनले उक्त एक मात्रै गोल पेनाल्टीमार्फत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्