स्वास्थ्य बीमा उपलब्ध औषधि परिमार्जन, १८७ प्रकारका औषधि हटाइए

काठमाडौं, २७ साउन । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुँदै आएका औषधिको सूची परिमार्जन गरेको छ । स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागु गर्दै बीमामार्फत उपलब्ध हुने औषधिको १८७ प्रकारका औषधि हटाइए संख्या घटाएको हो ।

यससँगै अब स्वास्थ्य बीमा कार्यक्रमबाट १ हजार १०२ प्रकारका औषधि उपलब्ध हुनेछन् ।

बोर्डका सुचना अधिकारी विकेश मल्लका अनुसार यसअघि बीमा कार्यक्रमअन्तर्गत १ हजार २८९ प्रकारका औषधि उपलब्ध हुँदै आएका थिए । नयाँ सूचीअनुसार १८७ प्रकारका औषधि हटाइएपछि औषधिको संख्या १ हजार १०२ मा झरेको हो ।

मल्लका अनुसार औषधिको संख्या घटाउनुको मुख्य कारण एउटै प्रकृतिको उपचारमा प्रयोग हुने औषधिको दोहोरोपन हटाउनु, सरकारले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क उपलब्ध गराउने औषधि अलग गर्नु र नेपालमा प्रयोगमा नरहेका वा नियामक निकायबाट हटाउन सिफारिस भएका औषधिलाई सूचीबाट हटाएको हो ।

आधारभूत स्वास्थ्य सेवाअन्तर्गत सरकारले स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराउँदै आएका केही औषधि पनि बीमा कार्यक्रमको सूचीमा समावेश थिए । एउटै औषधि सरकारले निःशुल्क उपलब्ध गराउने र स्वास्थ्य बीमाबाट समेत भुक्तानी हुने अवस्था रहेकाले त्यस्तो दोहोरो व्यवस्था हटाइएको हो ।

‘आधारभूत स्वास्थ्य सेवाबाट सरकारले निःशुल्क दिने केही औषधि पनि बीमा सूचीमा थिए । त्यसलाई बीमाबाट पनि निरन्तरता दिँदा दोहोरोपन हुने भएकाले हटाइएको हो,’ मल्लले भने ।

बोर्डले नयाँ सुविधा थैली ३० असारको बोर्ड बैठकबाट स्वीकृत गरेको थियो । स्वीकृत नयाँ व्यवस्था ५ साउनदेखि कार्यान्वयनमा आइसकेको छ ।

औषधिको संख्या घटाइएको भए पनि यसले बीमित नागरिकले पाउने उपचार सुविधामा ठूलो असर नपर्ने बोर्डको दाबी छ ।

‘औषधि घटाउँदैमा बीमित नागरिकलाई उपचारबाट वञ्चित हुँदैन । प्रयोगमा नआएका वा एउटै प्रकृतिमा काम गर्ने औषधिको दोहोरोपन हटाइएको हो । वैकल्पिक औषधिबाट उपचार व्यवस्थापन गर्न सकिने भएकाले सेवाग्राहीलाई प्रत्यक्ष प्रभाव नपर्ने गरी सूची परिमार्जन गरिएको हो,’ मल्लले भने । यसले वीमितलाई पक्कै असर गर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्