एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं, २७ साउन । एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि चुक्ता पुँजीको ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको सञ्चालक समितिको १७४औँ बैठकको निर्णयअनुसार क्यापिटलको दशौँ वार्षिक साधारणसभा यही भदौ २६ गते शुक्रबार काठमाडौंको थापाथलीस्थित रजिस्टर्ड कार्यालयमा बिहान ९ बजे आयोजना हुने सभाले चुक्ता पुँजीको ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई स्विकृत गर्ने छ ।

साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तथा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ५० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्तावमाथि छलफल गरी पारित गरिने क्यापिटलले जनाएको छ। साथै सभामा अन्य विभिन्न प्रस्तावसमेत छलफल तथा निर्णयका लागि पेश गरिनेछ।

क्यापिटलले आफ्ना सेवाहरूलाई थप सहज, सरल र प्रविधिमैत्री बनाउँदै ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ। ‘अब लाइनमा होइन, क्यापिटलको सेवा अनलाइनमा’ भन्ने मूल नाराका साथ अघि बढिरहेको क्यापिटलले आर्थिक वर्ष २०८२÷८३ को अन्त्यसम्म आफ्ना अधिकांश सेवाहरू अनलाइनमार्फत उपलब्ध गराउने व्यवस्था मिलाउन सफल भएको जनाएको छ।

डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप क्यापिटलले सेवा प्रवाहलाई थप प्रविधिमैत्री बनाउँदै लगेको छ।

प्रतिक्रिया दिनुहोस्