कोलम्बियामा भूकम्पबाट मृत्यु हुनेका संस्ख्या १३२ जना पुग्यो, ५७० जना घाइते, संकटकाल घोषणा
काठमाडौं, २६ साउन । कोलम्बियामा आज बिहान७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् ।
सरकारले प्रारम्भिक रूपमा १११ जनाको मृत्यु र ८७ जना घाइते भएको जनाएको थियो । तर कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटिजका अनुसार मृत्यु हुनेको संख्या १३२ पुगेको छ भने ५७० जना घाइते भएका छन् ।
कोलम्बियन जियोलोजिकल सर्भिसका अनुसार सोमबार गएको भूकम्प यो शताब्दीमा कोलम्बियामा गएको सबैभन्दा शक्तिशाली भूकम्प हो । भूकम्पका कारण पश्चिमी कोलम्बियाका काली, पेरेइरा, क्विब्दो र मानिजालेससहितका शहरमा ठूलो क्षति पुगेको छ । भूकम्पको धक्का छिमेकी इक्वेडर र पानामासम्म महसुस गरिएको थियो ।
अमेरिकी भूगर्भ सर्वेक्षण ९यूएसजीएस०का अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब ४०० किलोमिटर पश्चिममा रहेको चोको क्षेत्रको सान होसे डेल पालमारमा थियो । भूकम्प १०७ किलोमिटर गहिराइमा गएको थियो ।
भूकम्पपछि केही घण्टाभित्रै कम्तीमा २१ वटा परकम्पसमेत गएका थिए ।
संकटकाल घोषणा, खोज र उद्धार जारी:
अलजजिराका अनुसार भवनका भग्नावशेषमा मानिसको खोजी जारी छ । उद्धारमा संलग्नहरूले कंक्रिटका ठूला टुक्रा र अन्य भग्नावशेष हातैले हटाइरहेको समेत देखिन्छ ।
स्थानीय अधिकारीका अनुसार कालीमा कम्तीमा २० वटा भवन पूर्णरूपमा भत्किएका छन् भने ३८० वटा भवनमा क्षति पुगेको छ । भत्किएका भवनमा धेरै मानिस फसेको आशंका गरिएको छ ।
राष्ट्रपति अबेलार्दो दे ला एस्प्रिएल्लाले सोमबार दिउँसो राष्ट्रिय सम्बोधन गर्दै देशभर संकटकाल घोषणा गरेका छन् । ‘राष्ट्रिय सरकारले जीवन जोगाउन, प्रभावित समुदायलाई सहयोग गर्न र आवश्यक ठाउँमा राहत पुर्याउन आफ्ना सबै संयन्त्र परिचालन गरेको छ,’ उनले भने ।
केही दिनअघि मात्रै एस्प्रिएल्लाले कोलम्बियाको राष्ट्रपतिको रुपमा शपथ लिएका थिए । नयाँ सरकारका लागि यो पहिलो ठूलो संकट बनेको छ ।
उनले भग्नावशेषमा फसेका मानिसको उद्धारलाई सरकारको पहिलो प्राथमिकता रहेको बताए ।
कोलम्बियाको प्रमुख कफी उत्पादन क्षेत्र रिसाराल्दामा मात्रै कम्तीमा ४० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । क्षेत्रीय राजधानी पेरेइरामा पनि ठूलो क्षति पुगेको छ बताइएको छ ।
भाये डेल काउका क्षेत्रमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन जना बालबालिका छन् ।
भूकम्पको केन्द्र नजिकै पर्ने चोको क्षेत्रमा भने सञ्चार सेवा अवरुद्ध हुँदा क्षतिको पूर्ण विवरण आउन सकेको छैन । त्यहाँका केही क्षेत्रमा भूकम्प गएको घण्टौंसम्म मोबाइल सेवा सञ्चालनमा आउन सकेको थिएन ।
चोकोकी गभर्नर नुबिया क्यारोलिना कोर्डोबाकाले भने उक्त क्षेत्रमा १२ जनाको मृत्यु र ८४ जना घाइते भएको अनुमान गरिएको बताएकी छन् । स्थानीय अगुवाहरुका अनुसार ठूलो संख्यामा मानिस बेपत्ता छन् ।
बेपत्ता मानिसको संख्या बढ्दै: 
सोमबार दिउँसोसम्म मानिसहरूले आफ्ना आफन्त बेपत्ता भएको विवरण अनलाइन डेटाबेसमा राख्न थालेका थिए । एउटा डिजिटल डेटाबेसमा मात्रै १ हजार ४०० भन्दा बढी मानिस बेपत्ता भएको विवरण राखिएको थियो । तीमध्ये अधिकांश काली र पेरेइराका थिए ।
पेरेइरामा विमानस्थलको छतका केही भाग खसेको दृश्य सार्वजनिक भएको छ । भूकम्पपछि यात्रुहरू डराउँदै सुरक्षित स्थानतर्फ भागेको देखिएको छ । त्यहाँ चारतले भवन भत्किएको दृश्यसमेत सार्वजनिक भएको छ ।
पेरेइराका मेयर माउरिसियो सालाजारका अनुसार शहरमा कम्तीमा १५ वटा भवन भत्किएका छन् । ती भवनमा मानिस फसेको आशंका गरिएको छ ।
नजिकैको मानिजालेसमा शहरको प्रसिद्ध नव–गोथिक शैलीको क्याथेड्रलको एउटा छेउको टावर भत्किएको छ । टावरको भग्नावशेष सडकमा खसेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
भूकम्पपछि कोलम्बियाको नागरिक उड्डयन प्राधिकरणले पश्चिमी क्षेत्रका केही विमानस्थलमा उडान सेवा स्थगित गरेको छ । पेरेइरा, मानिजालेस, क्विब्दो, आर्मेनिया, कार्तागो र बुएनाभेन्तुराका विमानस्थलमा संरचनाको प्राविधिक निरीक्षण भइरहेको छ ।
यस शताब्दीको सबैभन्दा शक्तिशाली भूकम्प
प्रशान्त महासागर वरपरको भूकम्पीय क्षेत्रमा पर्ने कोलम्बियामा साना भूकम्प सामान्य मानिन्छन् । तर ६ म्याग्निच्युडभन्दा माथिका भूकम्प भने दुर्लभ छन् ।
सन् १९९९ मा आर्मेनिया शहरनजिकै गएको ६।२ म्याग्निच्युडको भूकम्पमा १ हजार १०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।
कोलम्बियन जियोलोजिकल सर्भिसका अनुसार सोमबारको भूकम्प २१औं शताब्दीमा कोलम्बियामा रेकर्ड भएको सबैभन्दा शक्तिशाली भूकम्प हो ।
नर्थवेस्टर्न विश्वविद्यालयकी भूकम्पविद् सुजान भान डर लीका अनुसार भूकम्पको ठूलो म्याग्निच्युड, जमिनभित्रको अवस्थिति र ‘स्ट्राइक–स्लिप’ प्रकृतिको चालका कारण जनघनत्व भएका क्षेत्रमा क्षति बढेको हुन सक्छ ।
‘यो भूकम्प पृथ्वीको निकै तल गएको थियो । सिद्धान्ततस् यस्तो अवस्थामा धेरै ठूलो कम्पन हुन नहुने हो । तर यसको म्याग्निच्युडका कारण निकै शक्तिशाली कम्पन भयो,’ उनले रोयटर्सलाई भनेकी छन् ।
अमेरिकासहित विभिन्न देशले सहयोग गर्ने
भूकम्पपछि अमेरिकाले कोलम्बियालाई आपत्कालीन सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले आपत्कालीन आश्रय, खाद्यान्न तथा भूकम्प प्रभावितको उद्धार र राहतका लागि १ करोड ५५ लाख डलर सहयोग गर्ने जनाएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल एक्समार्फत कोलम्बियामा गएको शक्तिशाली भूकम्पलाई अमेरिकाले नजिकबाट निगरानी गरिरहेको र कोलम्बियाली जनतालाई सहयोग गर्न तयार रहेको बताएका छन् ।
ल्याटिन अमेरिकी मुलुकहरूले पनि सहयोगको प्रतिबद्धता जनाएका छन् । एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेले र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेइनबाउमले कोलम्बियालाई तत्काल सहयोग गर्न तयार रहेको बताएका छन् ।
चिलीका राष्ट्रपति होसे एन्टोनियो कास्टले पनि भूकम्प प्रभावित कोलम्बियालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भूकम्पको उच्च जोखिममा रहेको चिलीले ‘भूकम्पपछि आउने पीडा र चुनौती राम्रोसँग बुझेको’ उनले बताएका छन् ।
इजरायल, इक्वेडर र फ्रान्सले पनि कोलम्बियालाई उद्धार तथा राहतमा सहयोग गर्ने प्रस्ताव गरेका छन् । एजेन्सी












प्रतिक्रिया दिनुहोस्