ज्योति विकास बैंकको नाफामा भारी वृद्धि
काठमाडौं, २१ साउन । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भारी वृद्धि भएको रिपोर्टले जनाएको छ । ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद नाफा बढ्न पुगेको हो।
रिपोर्ट अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९०५.७५० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १० करोड २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २० रुपैयाँ ६१ पैसा बढेर २२ रुपैयाँ ८८ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४।८२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ९७ पैसा रहेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.७७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १३.८८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ७.७५ प्रतिशतबाट घटेर ६.५५ प्रतिशतमा झरेको छ। अघिल्लो आर्थिक वर्ष ८७ करोड ८५ लाख रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज, गत आर्थिक वर्ष ३० करोड १२ लाख रुपैयाँ रिभर्स भएकोले बैंकको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १४ करोड ४३ लाख रुपैयाँ रहेको छ।
हाल ४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ११ करोड रुपैयाँ सञ्चित छ। गत असार मसान्तसम्ममा बैंकले ६७ अर्ब २२ करोड निक्षेप संकलन गरी ४९ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यसले बैंकको प्रफमेन्स राम्रो देखिएको छ ।












प्रतिक्रिया दिनुहोस्