सार्वजनिक पुस्तकालय ताला परिषद् आफैंले खोल्ने भयो
काठमाडौं, २० साउन । सरकारमाथी ठूलो दवावपछि लामो समयपछि भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालय ताला खुल्ने भएको छ । सबैको विरोध र दवादपछि परिषद् आफैंले पुस्तकालय ताला खोल्ने भएको हो । समाज कल्याण परिषद्ले चैत ३० गते देखि बन्द गरेको काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला परिषद् आज खोला गरे पश्चात सबैले अध्ययन गर्न पाउने छ ।
समाज कल्याण परिषद्ले ताला खोलिने जानकारी सहित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयलाई प्रतिनिधि पठाइदिन पत्र लेखेको छ । पुस्तकालयले भाडा नतिरेको कारण देखाउँदै समाज कल्याण परिषदले अन्य व्यवसायीक स्टलसँगै पुस्तकालय पनि बन्द गरेको थियो । पुस्तकालय बन्द गरेपछि सरकारी निर्णयको चौतर्फी विरोध भएपछि सरकार आफैंले ताला खोल्न लागेको हो ।
समाज कल्याण परिषद्मार्फत सञ्चालित स्टलमा निजी व्यवसाय, सामाजिक संघसंस्था, मिडिया कार्यालय, पुस्तकालयले भाडा नतिरेको भन्दै ताला लगाइएको थियो । सुरक्षाकर्मीको सहयाताले २० वटा स्टलमा ताला लगाइएको थियो । परिषद्का अनुसार पुस्तकालयका लागि सञ्चालित ३४ नम्बर स्टलले भाडा वापतको १ करोड १३ लाख ५३ हजार ९५ रुपैयाँ चुक्ता गर्न बाँकी छ । अर्को स्टल ३८ ले तिर्न बाँकी रकम १ करोड ७६ लाख ७० हजार २८१ रुपैयाँ रहेको परिषदले त्यसबेला जानकारी गराएको थियो ।
समाज कल्याण परिषदसँग काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजले २०६४ असोज २१ गते भाडा सम्झौता गरेका थियो । तत्कालीन समयको सम्झौतामा अन्यको तुलनामा पुस्तकालयको हकमा छुट्टै भाडातर तय गरिएको थियो । पुस्तकालयका लागि ७५ प्रतिशत भाडा छुट दिने गरी सम्झौता भएको थियो । पुस्तकालय सञ्चालन भएको ३४ नम्बर स्टलले प्रतिमहिना ४ हजार ८४४ र ६८ नम्बर स्टलले ७ हजार ५५५ तिर्ने गरी सम्झौता भएको पुस्तकालयका पुरानो सम्झौता पुनरावलोकनसमेत नगरी समाज कल्याणले पुस्तकालयलाई निजी व्यवसाय जस्तै व्यवहार गरेको भन्दै भट्टराई असन्तुष्टि व्यक्त गर्दै आएको थिए।
दातृ संस्था एवं व्यक्तिहरूबाट पुस्तकालयमा ४० हजार पुस्तक, पत्रिका, जर्नल, मन्त्रालयका प्रतिवेदनहरू संरक्षित छन् । समाजका अनुसार दैनिक २०० हाराहारी पाठक अध्ययनका लागि पुस्तकालय पुग्ने गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्