मेची नाकाबाट १ अर्ब ७९ करोडभन्दा बढीको छुर्पी निर्यात, पाँच वर्षदेखि निरन्तर वृद्धि

काठमाडौं, १५ साउन। मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ७९ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको बढ्दो मागसँगै निर्यातमा उल्लेख्य वृद्धि भएको हो।

मेची भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा अर्ब ४१ करोड ७१ लाख ४ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको थियो। यस आधारमा गत आर्थिक वर्षमा छुर्पी निर्यात करिब २७ प्रतिशतले वृद्धि भएको देखिन्छ।

कार्यालयका सूचना अधिकारी मांकल राईले पछिल्ला पाँच वर्षदेखि मेची नाकाबाट छुर्पी निर्यात निरन्तर बढ्दै गएको जानकारी दिए। उनका अनुसार अन्तर्राष्ट्रिय बजार, विशेषगरी पाल्तु जनावरको आहारका रूपमा नेपाली छुर्पीको माग बढ्दै जाँदा निर्यातमा सकारात्मक प्रभाव परेको हो।

नेपालमा उत्पादन हुने छुर्पी मुख्यतः कुकुर र बिरालोका लागि चपाउने आहार (Chew Treat) का रूपमा अमेरिका, युरोप लगायतका अन्तर्राष्ट्रिय बजारमा निर्यात हुँदै आएको छ।

पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ नेपाली छुर्पी उत्पादनका प्रमुख क्षेत्र हुन्। यी जिल्लामा उत्पादन हुने छुर्पी मेची भन्सार हुँदै विभिन्न मुलुकमा निर्यात हुने गरेको छ।

बढ्दो अन्तर्राष्ट्रिय मागसँगै छुर्पी निर्यातले दुग्धजन्य उद्योग, पशुपालन व्यवसाय र ग्रामीण अर्थतन्त्रलाई समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्