पासपोर्ट बनाउन भीड बढेपछि इपिएस आवेदन अवधि साउन २० गतेसम्म थपियो
काठमाडौं, १४ साउन । राहदानी विभागमा पासपोर्ट बनाउने सेवाग्राहीको भीड बढेपछि दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा आवेदन दिने अवधि थप गरिएको छ।
ग्वार्कोस्थित इपिएस कोरिया शाखाले सूचना जारी गर्दै अब साउन २० गतेसम्म आवेदन दिन सकिने जनाएको छ। यसअघि तोकिएको आवेदन अवधि दुई दिन थप गरिएको हो।
शाखाका अनुसार राहदानी विभागमा बढ्दो चापका कारण इच्छुक आवेदक आवेदन दिनबाट वञ्चित नहून् भन्ने उद्देश्यले आवेदन अवधि लम्ब्याइएको हो।
इपिएस कोरिया शाखाले म्याद सकिएका राहदानी भएकाहरूले पनि सोही राहदानीको विवरण प्रयोग गरेर आवेदन दिन सक्ने व्यवस्था गरिएको जनाएको छ। उक्त राहदानी भाषा परीक्षा उत्तीर्ण गरी रोजगारीका लागि आवेदन फाराम भर्ने समयसम्म मान्य रहने उल्लेख गरिएको छ।
यसैबीच, राहदानी विभागले पनि सेवाग्राहीको अत्यधिक चापलाई मध्यनजर गर्दै सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत सेवा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।
इपिएस भाषा परीक्षा आवेदनका लागि राहदानी बनाउनुपर्ने आवेदकको संख्या बढेसँगै विभागमा पछिल्ला दिनहरूमा उल्लेख्य भीड देखिएको छ।













प्रतिक्रिया दिनुहोस्