सप्तरीमा ३३/११ केभी सबस्टेसन सञ्चालन, १५ हजारभन्दा बढी उपभोक्ता लाभान्वित हुने

काठमाडौं, १४ साउन । सप्तरीको खड्क नगरपालिका–पनसेरामा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ३३/११ केभी, ६/८ एमभिए क्षमताको नयाँ सबस्टेसन सञ्चालनमा ल्याएको छ।

बुधबार साँझदेखि सञ्चालनमा आएको उक्त सबस्टेसनले सप्तरीका विभिन्न क्षेत्रमा विद्युत आपूर्तिको गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ। करिब १२ करोड रुपैयाँ लागतमा निर्माण भएको आयोजनाअन्तर्गत १० किलोमिटर लामो ११ केभी प्रसारण लाइनसमेत निर्माण गरिएको छ।

नयाँ सबस्टेसन सञ्चालनमा आएपछि खड्क नगरपालिका र सुरूंगा नगरपालिकाअन्तर्गत कदमाहा, लालपट्टा, कल्याणपुरलगायतका क्षेत्रमा रहेका करिब १५ हजार विद्युत उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार यसअघि देखिँदै आएका कम भोल्टेज, बारम्बार लाइन ट्रिपिङ तथा विद्युत आपूर्तिमा हुने अवरोधका समस्या अब उल्लेखनीय रूपमा घट्नेछन्। नयाँ पूर्वाधारले भोल्टेज प्रोफाइल सुधार गर्दै उपभोक्तालाई थप स्थिर, भरपर्दो र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मधेस प्रदेशमा विद्युत सेवाको गुणस्तर सुधारका लागि यो महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

उनले विद्युत उत्पादन वृद्धि मात्र सरकारको लक्ष्य नभई उत्पादन भएको विद्युत प्रत्येक घरपरिवार, उद्योग र व्यवसायसम्म गुणस्तरीय तथा भरपर्दो रूपमा पुर्‍याउनु सरकारको प्राथमिकता रहेको बताए।

मन्त्री श्रेष्ठले प्रसारण तथा वितरण प्रणालीलाई आधुनिक, सुरक्षित र विश्वसनीय बनाउने अभियान देशभर तीव्र रूपमा अघि बढिरहेको उल्लेख गर्दै नागरिकका गुनासोलाई समाधानमा रूपान्तरण गर्ने सरकारको प्रतिबद्धता कायम रहेको बताए।

प्रतिक्रिया दिनुहोस्