युएई जाने नेपाली श्रमिकका लागि नयाँ व्यवस्था, श्रम स्वीकृतिअघि भिसा प्रमाणीकरण अनिवार्य

काठमाडौं, १३ असार ।  संयुक्त अरब इमिरेट्स (युएई) को दुबई तथा उत्तरी इमिरेट्सका स्वतन्त्र आर्थिक क्षेत्र र अर्धसरकारी कम्पनीमा रोजगारीका लागि जाने नेपाली श्रमिकका लागि नयाँ व्यवस्था लागू गरिएको छ।

दुबईस्थित नेपाली महावाणिज्यदूतावासले भिसा प्रमाणीकरण प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गरेको जनाएको छ।

दूतावासले जारी गरेको सूचनाअनुसार मागपत्र प्रमाणीकरण भई भर्ना प्रक्रियामा रहेका श्रमिकले युएई आउनुअघि श्रम स्वीकृति लिन संस्थागत भिसा प्रमाणीकरण अनिवार्य रूपमा गराउनुपर्नेछ।

नयाँ व्यवस्थाअनुसार स्वतन्त्र आर्थिक क्षेत्र र अर्धसरकारी कम्पनीका हकमा अफर लेटर वा रोजगार सम्झौता अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

कम्पनीहरूले आवेदन दिँदा रितपूर्वक भरिएको आवेदन फाराम, भिसा प्रमाणीकरण पत्रका दुई प्रति, कम्पनीको छाप र आधिकारिक हस्ताक्षरसहितको भिसाको प्रतिलिपि, वैदेशिक रोजगार विभागबाट प्राप्त पूर्वस्वीकृति पत्र तथा स्वीकृत मागपत्रको प्रतिलिपि पेस गर्नुपर्ने दूतावासले जनाएको छ।

त्यस्तै, अफर लेटर वा रोजगार सम्झौतामा श्रमिकको आधारभूत तलब तथा अन्य सेवासुविधा स्वीकृत मागपत्रअनुसार स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्ने व्यवस्था गरिएको छ।

यसका साथै म्यानपावर कम्पनीबाट जारी गरिएको भिसा बाँकी अभिलेख तथा कम्पनीको आधिकारिक प्रतिनिधिको परिचयपत्र वा अख्तियारीसम्बन्धी कागजात पनि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

दूतावासले पेस गरिने सबै कागजात सम्बन्धित कम्पनीको आधिकारिक प्रतिनिधिबाट स्वप्रमाणित गरिएको हुनुपर्ने व्यवस्था पनि लागू गरेको छ।

दुबईस्थित नेपाली महावाणिज्यदूतावासले सबै रोजगारदाता कम्पनी, म्यानपावर व्यवसायी तथा सरोकारवालालाई नयाँ मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्