चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको बजेट स्वीकृत

काठमाडौं, १३ असार । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले उक्त बजेट तथा कार्यक्रम पारित गरेको हो।

आयोगका अनुसार स्वीकृत बजेटमध्ये नेपाल सरकारबाट ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ विनियोजन गरिएको छ भने आयोगको आन्तरिक स्रोतबाट ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने व्यवस्था गरिएको छ।

बैठकले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा रहेको ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ बचत तथा चालु आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित ३५ करोड रुपैयाँसमेत गरी उपलब्ध स्रोत व्यवस्थापन गर्ने निर्णय गरेको छ।

आयोगका अनुसार कुल आन्तरिक स्रोतमध्ये चालु आर्थिक वर्षमा ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गरिनेछ भने बाँकी रकम भविष्यका कार्यक्रम तथा आवश्यकताअनुसार व्यवस्थापन गरिनेछ।

स्वीकृत बजेटअन्तर्गत आन्तरिक स्रोतबाट चालुतर्फ ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ र पुँजीगततर्फ ८ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको छ।

बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा. देवेन्द्रबहादुर खत्री तथा सदस्यसचिव बसन्तप्रसाद कोइरालालगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्