रहेनन् वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटा

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको सोमबार साँझ ६३ वर्षको उमेरमा बाँसवारीस्थित न्यूरो अस्पतालमा निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको आज साँझ ५.३५ बजे निधन भएको अस्पतालले जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा. देवकोटा ६ महिनासम्म बेलायतमै उपचार गराए । तर त्यहाँ स्वास्थ्यमा सुधार नभएपछि देपकोटा वैशाखको दोस्रो साता नेपाल फर्किएका थिए।

त्यस यता उनले आफ्नै अस्पताल बाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका थिए।

देवकोटाको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीको लागि न्यूरो अस्पतालमा राखिने अस्पतालले जनाएको छ । त्यसपछि पशुपति आर्यघाट लगेर अन्तिम संस्कार गरिने भएको छ । उनको काजकिरिया ७ दिनमा सकिने र हेपाली हाइटमा हुनेसमेत जनाइएको छ।

बिस २०१० साल पुस १० गते गोरखाको आँपपिपलमा जन्मिएका देवकोटा २०२६ सालको एसएलसी बोर्डमा समेत परेका थिए।

वीर अस्पतालमा सेवा गरेका देवकोटाले नेपालमा न्यूरो सर्जरी सेवालाई विस्तार र विकास गर्न महत्वपूर्ण योगदान दिएका थिए। वीर अस्पतालमा पहिलो पटक न्यूरो सर्जरी विभाग स्थापना गर्ने श्रेय समेत देवकोटालाई जान्छ। उनी स्वास्थ्य मन्त्री हुँदा निकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेम्सको स्थापना गरेका थिए।

प्रतिक्रिया दिनुहोस्