निर्जीवन बीमा कम्पनीले एक वर्षमा ५१ अर्ब ९२ करोड रुपैयाँको बीमाशुल्क संकलन, मोटर बीमाको हिस्सा सबैभन्दा बढी
काठमाडौं, १३ असार । नेपालका निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ मा ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जीवन बीमा क्षेत्रको व्यापारमा मोटर बीमाको हिस्सा सबैभन्दा बढी रहेको छ।
तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले मोटर बीमाबाट मात्रै १५ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। कुल बीमा व्यापारमा मोटर बीमाको योगदान २९ दशमलव ८३ प्रतिशत रहेको छ।
दोस्रो ठूलो हिस्सा सम्पत्ति बीमाको रहेको छ। समीक्षा अवधिमा सम्पत्ति बीमाबाट १२ अर्ब २२ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ, जुन कुल व्यापारको २३ दशमलव ५५ प्रतिशत हो।
त्यसपछि इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाबाट १० अर्ब ७ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ। यस क्षेत्रको योगदान कुल व्यापारमा १९ दशमलव ४१ प्रतिशत रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
यसैगरी, विविध बीमाबाट ५ अर्ब ३२ करोड ३ लाख रुपैयाँ अर्थात् १० दशमलव २५ प्रतिशत बीमाशुल्क संकलन भएको छ।
सामुद्रिक बीमाबाट ३ अर्ब १२ करोड २४ लाख रुपैयाँ (६ दशमलव ०१ प्रतिशत), हवाई बीमाबाट २ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ (४ दशमलव ९४ प्रतिशत), कृषि बीमाबाट १ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ (३ दशमलव ४५ प्रतिशत) तथा लघु बीमाबाट १ अर्ब ३३ करोड १४ लाख रुपैयाँ (२ दशमलव ५६ प्रतिशत) बीमाशुल्क संकलन भएको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा निर्जीवन बीमा क्षेत्रको कुल व्यापारमा मोटर, सम्पत्ति तथा इन्जिनियरिङ बीमाले प्रमुख योगदान दिएका छन्।:::













प्रतिक्रिया दिनुहोस्