गोल्डस्टारले जापानी बजार विस्तारका लागि गर्यो रणनीतिक साझेदारी
काठमाडौं, १३ असार । नेपाली जुत्ता उत्पादक कम्पनी गोल्डस्टार स्ट्राइड लिमिटेड र गोल्डस्टार जापान कम्पनी लिमिटेडबीच जापानी बजारमा गोल्डस्टार ब्रान्ड विस्तारका लागि रणनीतिक साझेदारी भएको छ।
सम्झौताअनुसार जापानी बजारलाई लक्षित गरी उत्पादन, वितरण, ब्रान्ड प्रवर्द्धन तथा ग्राहक सेवामा दुवै कम्पनीले सहकार्य गर्ने भएका छन्।
सम्झौतामा गोल्डस्टार स्ट्राइडका अध्यक्ष अमिर प्रताप ज.ब. राणा र गोल्डस्टार जापानका प्रमुख कार्यकारी अधिकृत कावाशिमा मिजुकीले हस्ताक्षर गरेका छन्।
कम्पनीका अनुसार सम्झौताअघि गोल्डस्टार जापानका प्रतिनिधिले तीन पटक नेपाल भ्रमण गरी गोल्डस्टारका तीनवटै उत्पादन केन्द्रको निरीक्षण गरेका थिए। प्रतिनिधिहरूले उत्पादन प्रक्रिया, प्रयोग हुने प्रविधि, गुणस्तर नियन्त्रण प्रणाली तथा जनशक्तिको मूल्यांकन गरेपछि दीर्घकालीन साझेदारीको निर्णय गरिएको कम्पनीले जनाएको छ।
साझेदारीपछि जापानी बजारको आवश्यकता र उपभोक्ताको मागअनुसार जुत्ता उत्पादन, आधिकारिक वितरण, ब्रान्ड विस्तार तथा बजार प्रवर्द्धनका क्षेत्रमा दुवै कम्पनीले संयुक्त रूपमा काम गर्नेछन्।
गोल्डस्टार स्ट्राइडका अध्यक्ष राणाले साझेदारीले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा थप स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
यस्तै, गोल्डस्टार जापानका प्रमुख कार्यकारी अधिकृत मिजुकीले जापानी उपभोक्ताले गुणस्तर र विश्वसनीयतालाई प्राथमिकता दिने भएकाले गोल्डस्टारसँगको सहकार्यले जापानी बजारमा गुणस्तरीय उत्पादन उपलब्ध गराउन सहयोग पुग्ने बताए।













प्रतिक्रिया दिनुहोस्