अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि ३० अर्ब रुपैयाँ तान्दै
काठमाडौं, १३ असार । बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत फेरि ३० अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले साउन १३ गते दिउँसो ३ बजे बोलकबोलमार्फत उक्त रकम संकलन गर्ने जनाएको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको रकमसम्म पाँच करोड रुपैयाँले निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनका लागि ब्याजदर उल्लेख गरी बोलकबोल गर्नुपर्नेछ। साथै, बहुब्याजदरमा बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।
यो ६१ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी असोज १२ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
पछिल्लो समय कर्जाको माग अपेक्षित रूपमा बढ्न नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता देखिएको छ। सोही तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंक तथा वित्तीय संस्थाबाट रकम तान्दै आएको छ।
हाल बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत हाराहारीको ब्याजदरमा समेत राष्ट्र बैंकमा रकम निक्षेप गर्न बाध्य भइरहेका छन्।













प्रतिक्रिया दिनुहोस्