अर्थमन्त्री वाग्ले : प्रधानमन्त्रीसँग अर्थतन्त्रमा पूर्ण समन्वय, उद्योगमैत्री वातावरण सरकारको प्राथमिकता

काठमाडौं, १२ साउन । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन शाह र आफूबीच अर्थतन्त्रका विषयमा पूर्ण समन्वय रहेको स्पष्ट पार्दै निजी क्षेत्रसँग प्रधानमन्त्रीको प्रत्यक्ष संवादलाई सरकारले प्राथमिकता दिएको बताएका छन्।

उत्पादनमूलक उद्योगका प्रतिनिधिसँग मंगलबार भएको छलफलमा अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीले उद्योगी–व्यवसायीसँग प्रत्यक्ष रूपमा समस्या सुन्न सकून् भन्ने उद्देश्यले आफू ती भेटमा सहभागी नभएको स्पष्ट पारे।

“प्रधानमन्त्री र मबीच अर्थतन्त्रका विषयमा अत्यन्तै नजिकको समन्वय छ। निजी क्षेत्रसँग उहाँको प्रत्यक्ष संवाद होस् भन्ने हाम्रो चाहना हो,” उनले भने।

प्रधानमन्त्रीले निजी क्षेत्रका समस्या गम्भीर रूपमा लिइरहेको उल्लेख गर्दै उनले मन्त्रिपरिषद्को प्रत्येक बैठकपछि अर्थतन्त्रका विषयमा विस्तृत छलफल हुने जानकारी दिए।

अर्थमन्त्री वाग्लेले सरकारले लगानीमैत्री वातावरण निर्माणलाई उच्च प्राथमिकतामा राखेको पनि बताए। अर्थतन्त्रसँग सम्बन्धित ४२ वटा ऐन चालु वर्षमै संशोधन वा खारेज गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उनले प्रशासनिक झन्झट घटाएर लगानीकर्तालाई सहज सेवा उपलब्ध गराइने बताए।

उनका अनुसार सरकारको उद्देश्य उद्योग सञ्चालन गर्नु नभई उद्योग फस्टाउने वातावरण सिर्जना गर्नु हो। सञ्चालनमा रहेका उद्योगलाई पूर्ण क्षमतामा उत्पादन गर्न, नयाँ उद्योग स्थापना गर्न र निजी लगानी विस्तार गर्न आवश्यक नीतिगत तथा प्रशासनिक सुधार गरिने उनले बताए।

उत्पादन लागत, जग्गा, विद्युत्, श्रम, ढुवानी, वित्त, कच्चापदार्थ र बजारसँग सम्बन्धित समस्यालाई व्यवहारमै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै वाग्लेले उद्योगीले उठाएका समस्या तत्काल सम्बोधन गर्न अर्थ मन्त्रालयमा उच्च प्राथमिकतासहित ‘रेस्पोन्स डेस्क’ स्थापना गरिने जानकारी दिए।

“अब समस्या थन्क्याउने होइन, समाधान गर्ने कार्यसंस्कृति विकास गर्छौं,” उनले भने।

अर्थमन्त्रीले बजेटमा घोषणा गरिएका सुधार, पुँजीगत खर्च वृद्धि, आयोजना कार्यान्वयन, वित्तीय क्षेत्र तथा पुँजी बजार सुधारलाई तीव्रता दिइने उल्लेख गर्दै आयातमुखी अर्थतन्त्रलाई उत्पादन तथा निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताए।

उनले निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता भएको उल्लेख गर्दै लगानीको सुरक्षा, उचित प्रतिफल र उद्यमीको सम्पत्तिको संरक्षण सरकारको उच्च प्राथमिकतामा रहने बताए।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकाल, महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेश अग्रवाल, उद्योगी भरत आचार्य, सेयर लगानीकर्ता अम्बिका पौडेल तथा सूर्य नेपालका उपाध्यक्ष रवि केसीलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्