गृह र उद्योगमन्त्रीको निर्णय : किसान ठग्ने उखु मिल र क्रसर उद्योगमाथि कारबाही गरिने

काठमाडौं । किसानबाट उखु लिएर समयमै भुक्तानी नदिने उखु मिल र मापदण्ड नपुगेका क्रसरव उद्योग अब गृहमन्त्रीको कारबाहीमा पर्ने भएका छन् ।

सोमवार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव सहितको बैठकले उखु मिल र क्रसर उद्योगमाथि कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

बैठकले सुनसरी, सिराहा, सर्लाही, बारा, पर्सा, नवलपरासी लगायतका जिल्लाहरुमा उखुको रकम भुक्तानी नगरेको भनी उजुरी परेकोमा प्रमुख जिल्ला अधिकारीले उद्योगीहरुलाई बोलाई छलफल गरी तत्काल कृृषकको रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

उद्योगीहरुले तत्काल कृषकको रकम दिन नमानेमा कानून कमोजिम कारबाही गर्ने सम्बन्धमा रायसहित ७ दिनभित्र गृहमन्त्रालयमा सिफारिस गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई बैठकले निर्देशन दिएको छ ।

यसैगरी बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका क्रसर उद्योगहरुलाई सञ्चालन अनुमति दिने निकायहरु खानी विभाग, घरेलु तथा साना उद्योग कार्यालय, तत्कालीन जिल्ला विकास समिति, स्थानिय तहहरुले अनुमति दिए अनुसार क्रसरको प्रकृति, मापदण्ड पुगे नपुगेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयहरुले जिल्लास्थित कार्यालयहरुसँग समन्वय गरी पाँच दिनभित्र सो को विवरण गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्