ऊर्जामन्त्रीको सचिवालयको स्पष्टोक्ति : हालसम्म एकजना मात्रै अवैतनिक सल्लाहकार नियुक्त

काठमाडौं, १२ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले हालसम्म मन्त्रालयमा एकजना मात्रै सल्लाहकार नियुक्त गरिएको स्पष्ट पारेको छ।

मन्त्रीका सञ्चार सम्पर्क प्रतिनिधि राजु श्रेष्ठका अनुसार मंगलबार विवेक राज कँडेललाई ऊर्जा व्यापार तथा पूर्वाधार विषयका अवैतनिक सल्लाहकारका रूपमा नियुक्त गरिएको हो। उनले उक्त नियुक्तिमा कुनै पनि पारिश्रमिक वा अन्य सेवासुविधा नलिने बताएका छन्।

यो स्पष्टोक्ति अर्थमन्त्री स्वर्णिम वाग्लेले ऊर्जामन्त्री श्रेष्ठले २० जना सल्लाहकार राखेको आरोप लगाएपछि आएको हो। अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको दाबी गर्दै आफूले भने एकजना मात्रै सल्लाहकार राखेको बताएका थिए।

यता, ऊर्जामन्त्री श्रेष्ठले पनि सामाजिक सञ्जालमार्फत मन्त्रालयले पहिलो सल्लाहकार नियुक्त गरेको जानकारी दिएका छन्।

उनले विवेक राज कँडेललाई ऊर्जा परिवारमा स्वागत गर्दै उनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवले नेपालको ऊर्जा क्षेत्रको नीतिगत सुधार, ऊर्जा व्यापार विस्तार, निजी क्षेत्रको लगानी प्रवर्द्धन तथा क्षेत्रीय ऊर्जा बजारसँगको एकीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

मन्त्रीको सचिवालयले हालसम्म एकजना मात्रै अवैतनिक सल्लाहकार नियुक्त गरिएको र अन्य सल्लाहकार नियुक्त गरिएको भन्ने दाबी तथ्यसँग मेल नखाने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्