चीनको ‘कृत्रिम सूर्य’ परियोजना अन्तिम चरणमा, विश्वकै ठूलो फ्युजन चुम्बक सफल परीक्षण
काठमाडौं, १२ साउन । चीनले आणविक फ्युजनमार्फत स्वच्छ र असीमित ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित अघि बढाएको ‘कृत्रिम सूर्य’ परियोजनामा महत्वपूर्ण सफलता हासिल गरेको छ। चीनले विश्वकै सबैभन्दा ठूलो सुपरकन्डक्टिङ फ्युजन चुम्बक निर्माण गरी सफल परीक्षण गरेको जनाएको छ।
यो उपलब्धिलाई सन् २०३० सम्म फ्युजन प्रविधिबाट विद्युत् उत्पादन गर्ने चीनको महत्वाकांक्षी योजनाको महत्वपूर्ण कोसेढुंगाका रूपमा हेरिएको छ। फ्युजन ऊर्जा विकासमा चीन कार्बनरहित ऊर्जाको सम्भावित ठूलो स्रोत हासिल गर्ने प्रयासमा अग्रणी मुलुकहरूको सूचीमा परेको छ।
यो विशाल सुपरकन्डक्टिङ चुम्बक चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत प्लाज्मा भौतिकशास्त्र संस्थानले विकास गरेको हो। २१ मिटर लामो र १२ मिटर चौडा डी–आकारको यो संरचनाको तौल ५८२ टन रहेको छ।
के हो ‘कृत्रिम सूर्य’ ?
कृत्रिम सूर्य भन्नाले आणविक फ्युजन रिएक्टरलाई बुझिन्छ, जसले सूर्यमा ऊर्जा उत्पादन हुने प्रक्रियालाई पृथ्वीमा दोहोर्याउने प्रयास गर्छ। यस प्रविधिमा अत्यधिक तापक्रममा हाइड्रोजन परमाणुलाई फ्युजन गराएर ठूलो मात्रामा ऊर्जा उत्पादन गरिन्छ।
फ्युजन प्रक्रियाबाट कार्बन डाइअक्साइड उत्सर्जन हुँदैन। वैज्ञानिकहरूले यो प्रविधि सफल भए भविष्यमा स्वच्छ र लगभग असीमित ऊर्जाको स्रोत बन्न सक्ने विश्वास गरेका छन्।
चीनले विकसित गरेको चुम्बकसँगै अनुसन्धानकर्ताहरूले उच्च तापक्रम सुपरकन्डक्टिङ सेन्ट्रल सोलेनोइडको पनि सफल परीक्षण गरेका छन्। यसलाई फ्युजन रिएक्टरको मुख्य भाग मानिन्छ। यसले रिएक्टरभित्र प्लाज्मा सुरु गर्न र स्थिर राख्न महत्वपूर्ण भूमिका खेल्छ।
आईटीईआरभन्दा ठूलो क्षमता
अनुसन्धानकर्ताहरूका अनुसार चीनले निर्माण गरेको यो सुपरकन्डक्टिङ फ्युजन चुम्बक अहिलेसम्मकै सबैभन्दा ठूलो हो। यसको आयतन अन्तर्राष्ट्रिय थर्मोन्युक्लियर एक्सपेरिमेन्टल रिएक्टर (आईटीईआर) का लागि निर्माण गरिएको समान चुम्बकभन्दा १.३ गुणा ठूलो रहेको छ।
यसले भण्डारण गर्न सक्ने ऊर्जा क्षमता पनि आईटीईआरको चुम्बकभन्दा करिब तीन गुणा बढी रहेको बताइएको छ। आईटीईआरलाई हालसम्म विश्वकै सबैभन्दा ठूलो फ्युजन ऊर्जा अनुसन्धान परियोजनाका रूपमा लिइन्छ।
प्लाज्मालाई नियन्त्रण गर्ने प्रविधि
फ्युजन रिएक्टरमा चुम्बकले शक्तिशाली चुम्बकीय क्षेत्र सिर्जना गर्छ, जसले १० करोड डिग्री सेल्सियसभन्दा बढी तापक्रममा रहेको प्लाज्मालाई नियन्त्रणमा राख्छ। यसले प्लाज्मालाई रिएक्टरको भित्तासँग सम्पर्क हुनबाट रोक्छ।
चीनले यो प्रविधि पूर्ण रूपमा घरेलु सामग्री र उत्पादन क्षमताको प्रयोगबाट विकास गरिएको दाबी गरेको छ। यससँगै फ्युजन प्रविधिमा विदेशी आपूर्तिकर्तामाथिको निर्भरता घटेको चीनको भनाइ छ।













प्रतिक्रिया दिनुहोस्