वाईफाई प्रयोग गर्दा पनि ब्यालेन्स काटिएको गुनासो, एनसेलले प्राविधिक समस्या स्वीकार्यो

काठमाडौं, १२ साउन । मोबाइल डेटा बन्द गरेर केवल वाईफाई प्रयोग गरिरहेका ग्राहकको समेत मुख्य ब्यालेन्सबाट रकम काटिएको गुनासो सार्वजनिक भएपछि निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले प्राविधिक समस्या भएको स्वीकार गरेको छ।

ग्राहकहरूले मोबाइल डेटा स्विच अफ गरेको अवस्थामा पनि इन्टरनेट सेवाको नाममा आफ्नो मेन ब्यालेन्सबाट रकम कटौती भएको भन्दै गुनासो गरेका थिए। लामो समयदेखि स–सानो रकम कटौती भइरहेकाले धेरै ग्राहकले यसबारे तत्काल ध्यान दिन नसकेको बताएका छन्।

मोबाइल डेटा खपत ०.०० एमबी देखिँदा पनि इन्टरनेट शीर्षकमा रकम काटिएको भन्दै सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यमबाट ग्राहकहरूले विरोध जनाएका थिए।

ग्राहकहरूको गुनासो बढेपछि एनसेलले विज्ञप्ति जारी गर्दै डेटा सेवासम्बन्धी अतिरिक्त शुल्क कटौती भएको विषयमा अध्ययन गर्दा प्राविधिक समस्या पुष्टि भएको जनाएको छ।

कम्पनीले विज्ञप्तिमा भनेको छ, “ग्राहकहरूबाट डेटा सेवामा अतिरिक्त शुल्क कटौती भएको भन्ने गुनासोबारे हाम्रो गम्भीर ध्यानाकर्षण भई यस सम्बन्धमा विस्तृत अध्ययन गरिएको छ। यो समस्या प्राविधिक कारणले उत्पन्न भएको पुष्टि भएको र सोहीअनुसार आवश्यक नियन्त्रणात्मक उपायहरू अवलम्बन गरिसकिएको छ।”

एनसेलले समस्या समाधान गरिएको र प्रभावित ग्राहकको रकम फिर्ता गरिएको दाबी गरेको छ। तर, ग्राहकहरूले भने समस्या कहिलेदेखि सुरु भएको, कति ग्राहक प्रभावित भए र कति रकम अनधिकृत रूपमा काटियो भन्ने विवरण कम्पनीले सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

ग्राहकहरूका अनुसार महिनौँदेखि दैनिक वा केही दिनको अन्तरालमा थोरै–थोरै रकम कटौती हुँदै आएको थियो। अहिले समस्या स्वीकार गरे पनि विगतमा काटिएको सम्पूर्ण रकम फिर्ता गर्ने विषयमा कम्पनीले स्पष्ट जानकारी नदिएको उनीहरूको गुनासो छ।

यस विषयमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको भूमिकामाथि पनि प्रश्न उठेको छ। दूरसञ्चार सेवा प्रदायकको बिलिङ प्रणाली नियमित अनुगमन गर्नुपर्ने भए पनि लामो समयसम्म यस्तो समस्या देखिनुले नियमन प्रभावकारितामाथि प्रश्न उठाएको छ।

प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले भने यस विषयमा अनुसन्धान भइरहेको बताएका छन्। उनले दोषी देखिएमा कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए।

“सो विषयमा प्राधिकरणले अनुसन्धान र छलफल गरिरहेको छ। एउटा गुनासो पनि प्राप्त भएको छ। अनुसन्धानका क्रममा एनसेलको गल्ती देखिएमा कानुनसम्मत कारबाही अगाडि बढाउँछौँ,” अर्यालले बताए।

प्रतिक्रिया दिनुहोस्