अर्थमन्त्रीले दिए निर्देशन: ‘राष्ट्र बैंकसरह विश्वासिलो उच्च नैतिक र पुँजी बजार सुधार अघि बढाऊ’
काठमाडौं, १२ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई नियामकीय गुणस्तर अभिवृद्धि गर्दै उच्च नैतिकता र दीर्घकालीन दृष्टिकोणका साथ पुँजी बजार सुधारका काम अघि बढाउन निर्देशन दिएका छन्।
आइतबार बोर्डको कार्यालयमा आयोजित कार्यक्रममा उनले सेबोनलाई वित्तीय प्रणालीमा नेपाल राष्ट्र बैंकसरह सशक्त, प्रभावकारी र विश्वासिलो नियामक संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
अर्थमन्त्री वाग्लेले बजार विकासका लागि संस्थागत क्षमता सुदृढ गर्न, नीति निर्माणमा सबै सरोकारवालासँग पर्याप्त परामर्श गर्न तथा दीर्घकालीन सोचका साथ सुधारका कार्यक्रम अघि बढाउन निर्देशन दिए। उनले नयाँ नेतृत्व आएपछि बोर्डको कार्यशैलीमा सकारात्मक परिवर्तन देखिन थालेको उल्लेख गर्दै यसले लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह गरेको बताए।
पछिल्लो समय हितग्राही (डीम्याट) खाताको संख्या उल्लेख्य रूपमा बढेसँगै लगानीकर्ताको अपेक्षा पनि बढेको उल्लेख गर्दै उनले त्यसअनुसार बोर्डको संस्थागत क्षमता विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले नीति निर्माण गर्दा राजनीतिक, आर्थिक तथा सामाजिक पक्षलाई समेटेर निर्णय लिनुपर्ने बताउँदै पर्याप्त छलफल र परामर्शपछि मात्रै नीति कार्यान्वयनमा ल्याउन सके पुँजी बजारको दिगो विकासमा टेवा पुग्ने धारणा व्यक्त गरे।
नियामकीय तथा कानुनी सुधारका लागि सरकारले आवश्यक सबै प्रकारको सहजीकरण गर्ने प्रतिबद्धता पनि अर्थमन्त्री वाग्लेले व्यक्त गरे।
यसैबीच, बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजी बजार विकासका लागि बोर्डले अघि बढाइरहेको सुधारात्मक कार्यक्रमबारे जानकारी दिएका थिए। उनका अनुसार बोर्डले पुँजी बजार विकासको दीर्घकालीन मार्गचित्र तयार गरी कार्यान्वयन सुरु गरिसकेको छ भने आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति तथा कार्ययोजना पनि कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ।
अध्यक्ष भट्टले चालु साउनभित्र प्राथमिक तथा दोस्रो बजारसँग सम्बन्धित विभिन्न सुधारका प्रस्ताव तयार गरिने जानकारी दिए। उनका अनुसार प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ), एउटै कारोबार दिनभित्र खरिद–बिक्री (इन्ट्राडे ट्रेडिङ), धितोमा सेयर कर्जा तथा सेयर सापटी लिएर बिक्री गर्ने (सर्ट सेलिङ) व्यवस्था लगायतका विषयमा परामर्शपत्र, नियम तथा निर्देशिका तयार गरिनेछ।
ती प्रस्तावमा प्राप्त सुझावका आधारमा आगामी भदौदेखि सरोकारवालासँग विस्तृत छलफल गरी आवश्यक परिमार्जनपछि नीति, नियम तथा निर्देशिका कार्यान्वयनमा ल्याइने बोर्डको योजना रहेको उनले बताए।
कार्यक्रममा अध्यक्ष भट्टले पुँजी बजार विकासमा देखिएका चुनौती, नीति कार्यान्वयनमा रहेका अवरोध तथा कर्मचारीको कार्यउत्साह अभिवृद्धिका लागि अर्थ मन्त्रालयबाट आवश्यक सहजीकरणको आग्रहसमेत गरेका थिए।
कार्यक्रममा अर्थसचिव डा. घनश्याम उपाध्याय, अर्थ मन्त्रालयका उच्च अधिकारी, बोर्ड सञ्चालक समितिका सदस्य तथा बोर्डका वरिष्ठ कर्मचारीको उपस्थिति रहेको थियो।













प्रतिक्रिया दिनुहोस्