नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन तीन स्थानमा उपकरण तयारी अवस्थामा

काठमाडौं, ११ साउन ।  वर्षायाममा नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा आवश्यक उपकरण व्यवस्थापन गरिएको छ।

डिभिजन सडक कार्यालय भरतपुरले पहिरो खस्नेबित्तिकै सडक खुलाउन एक्साभेटर, लोडर, ट्रिपरलगायतका उपकरण तयारी अवस्थामा राखेको जनाएको छ।

कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार बर्खामा हिलोसहितको पहिरो खस्न सक्ने भएकाले तत्काल घटनास्थल पुगेर काम गर्न सक्ने गरी उपकरण व्यवस्थापन गरिएको हो।

उनका अनुसार मुग्लिनमा एउटा लोडर राखिएको छ भने सेती दोभानमा लोडर, एक्साभेटर, ब्याकहु लोडर, ट्रिपर, टेलर र मिनी एक्साभेटर तयारी अवस्थामा राखिएको छ।

त्यस्तै, हालै ठेक्का लागेको तुईन खोलामा निर्माण कम्पनीले एक्साभेटर र लोडरको व्यवस्था गरेको छ। उक्त क्षेत्रमा पहिरो खसे तत्काल नजिक रहेका उपकरण प्रयोग गरी सडक खुलाइनेछ।

तुईन खोलामा रहेका उपकरण सामान्य अवस्थामा भने सोही क्षेत्रको पहिरो व्यवस्थापनका लागि मात्र प्रयोग गरिने इन्जिनियर घिमिरेले बताए।

ठूलो क्षेत्रफलमा पहिरो खसेमा ‘हेभी इक्युपमेन्ट’ कार्यालय हेटौँडा र पोखराबाट समेत उपकरण ल्याइने उनले जानकारी दिए। पहिरो खस्नेबित्तिकै सडक खुलाउन सक्ने गरी उपकरणसँगै जनशक्ति पनि तयारी अवस्थामा राखिएको उनको भनाइ छ।

वर्षात् सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिकजसो साना तथा ठूला पहिरो खस्ने गरेका छन्। पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने काम नियमित भइरहेको छ।

उक्त सडकखण्डमा मध्यमदेखि उच्च जोखिम भएका ४३ स्थान पहिचान गरिएको छ। तीमध्ये सात स्थान उच्च जोखिममा रहेका छन् भने बाँकी स्थान मध्यम जोखिममा छन्।

हिउँदमा समेत सुख्खा पहिरो जाने गरेको नारायणगढ–मुग्लिन सडक मुलुकको महत्वपूर्ण यातायात मार्गका रूपमा रहेको छ। देशका विभिन्न भागबाट दैनिक हजारौँ सवारीसाधन यही सडक हुँदै काठमाडौं आवतजावत गर्ने भएकाले यसलाई राजधानी जोड्ने प्रमुख ‘लाइफलाइन’ का रूपमा लिइन्छ।

प्रतिक्रिया दिनुहोस्