ग्लोबल आइएमई बैंकले नागरिक एपमार्फत खाता खोल्ने सुविधा सुरु गर्यो
काठमाडौं, ११ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा अनलाइनबाटै बैंक खाता खोल्न सकिने सुविधा सुरु गरेको छ।
नेपालमै पहिलो पटक सुरु गरिएको यस सेवामार्फत नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा ग्लोबल आइएमई बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्।
बैंकका अनुसार नागरिक एप प्रयोगकर्ताले एपमा उपलब्ध लिंकमार्फत बैंकको वेबसाइटमा रहेको क्युआर कोड स्क्यान गरी खाता खोल्ने प्रक्रिया अघि बढाउन सक्नेछन्।
यस सेवाअन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र प्राप्त गरी नागरिक एपमा आबद्ध नागरिकले अनलाइन माध्यमबाटै बैंक खाता खोल्न सक्नेछन्।
खाता खोल्ने क्रममा ग्राहकको पूर्वसहमति लिएर नागरिक एपमा रहेका आवश्यक व्यक्तिगत विवरण सुरक्षित रूपमा प्राप्त गरिने बैंकले जनाएको छ। यसबाट ग्राहकले आफ्नो विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै व्यक्तिगत सूचना तथा गोपनीयताको सुरक्षा सुनिश्चित हुने बैंकको भनाइ छ।
नागरिक एपमार्फत खोलिएको खाता सञ्चालन गर्न ग्राहकले नजिकको शाखा कार्यालयमा गई वा भिडियो केवाईसीमार्फत प्रमाणीकरण गर्नुपर्नेछ।
ग्लोबल आइएमई बैंकले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल र प्रविधिमैत्री डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले उक्त सुविधा सुरु गरेको जनाएको छ।
बैंकका अनुसार नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रिया सहज, पारदर्शी र आधुनिक बनाउने तथा ग्राहकलाई थप सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
हाल ग्लोबल आइएमई बैंकले देशभर ३४२ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।













प्रतिक्रिया दिनुहोस्