आईपीओको तयारीमा रहेको प्रभु हेलिकप्टरको व्यापार २८ करोड ५० लाख रुपैयाँ

काठमाडौं, ११ साउन । सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी गरिरहेको प्रभु हेलिकप्टर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा २८ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा सञ्चालन आम्दानी ९ दशमलव ५ प्रतिशत अर्थात् २ करोड ५० लाख रुपैयाँले बढेको हो। अघिल्लो वर्ष कम्पनीको सञ्चालन आम्दानी २६ करोड रुपैयाँ रहेको थियो।

प्रभु हेलिकप्टरको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७७/७८ मा १२ करोड ५० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७९/८० मा बढेर ४१ करोड ७० लाख रुपैयाँ पुगेको थियो। तर, आर्थिक वर्ष २०८०/८१ मा कम्पनीका दुईमध्ये एउटा हेलिकप्टर सञ्चालनबाट बाहिरिएपछि सेवा प्रभावित हुँदा आम्दानी घटेको थियो। पछिल्लो वर्ष भने कम्पनी पुनः सुधारको बाटोमा फर्किएको जनाएको छ।

खुम्बु क्षेत्रबाट आधाभन्दा बढी आम्दानी

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल आम्दानीमध्ये खुम्बु क्षेत्रबाट मात्रै करिब ५८ प्रतिशत आम्दानी भएको छ। खुम्बु क्षेत्र कम्पनीको सबैभन्दा ठूलो आम्दानी स्रोत बनेको छ।

त्यसपछि मनास्लु क्षेत्रबाट करिब १० प्रतिशत, सिमिकोट क्षेत्रबाट ८ प्रतिशत, कञ्चनजङ्घा क्षेत्रबाट ५ प्रतिशत, उद्धार सेवाबाट ५ प्रतिशत र अन्य विविध क्षेत्रबाट ९ प्रतिशत आम्दानी भएको कम्पनीले जनाएको छ।

कम्पनीको आम्दानी असोजदेखि मंसिर तथा चैतदेखि जेठसम्मको अवधिमा बढी केन्द्रित हुने गरेको छ। यी समय नेपालका प्रमुख पदयात्रा र हिमाल आरोहणका मौसमसँग सम्बन्धित छन्। आर्थिक वर्ष २०८१/८२ मा यी दुई अवधिबाट मात्रै कम्पनीले कुल आम्दानीको करिब ६९ प्रतिशत प्राप्त गरेको छ।

चुक्ता पुँजी ६३ करोड ७५ लाख रुपैयाँ

आर्थिक वर्ष २०८१/८२ सम्म प्रभु हेलिकप्टरको चुक्ता पुँजी ६३ करोड ७५ लाख रुपैयाँ पुगेको छ। कम्पनीका प्रमुख सेयरधनीमा सनराइज होल्डिङ्स लिमिटेड र सुभाष अमात्य रहेका छन्। उनीहरूको कम्पनीमा कुल ३५ दशमलव ९३ प्रतिशत स्वामित्व रहेको छ।

कम्पनीको सञ्चालन नाफा मार्जिन पनि पछिल्ला वर्षमा सकारात्मक देखिएको छ। ब्याज, कर, मूल्यह्रास तथा अमूर्त सम्पत्तिको खर्च कटाउनुअघिको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०८१/८२ मा ४६ दशमलव ०४ प्रतिशत रहेको छ।

त्यस्तै, ब्याज भुक्तानी क्षमता जनाउने ब्याज भुक्तानी आवरण अनुपात ३ दशमलव ०१ गुणा पुगेको छ। समग्र ऋणभार जनाउने गियरिङ अनुपात पनि घट्दै आर्थिक वर्ष २०८१/८२ मा १ दशमलव २४ गुणामा सीमित भएको छ।

दुई हेलिकप्टरबाट सेवा सञ्चालन

साबिक मुक्तिनाथ एयरलाइन्स प्रालिको व्यवसाय अधिग्रहण गर्दै सन् २०१५ मा स्थापना भएको प्रभु हेलिकप्टर सन् २०२२ मा सार्वजनिक लिमिटेड कम्पनीमा परिणत भएको हो।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको कम्पनीले चार्टर उडान, हवाई अवलोकन, बिरामी उद्धार, हिमाली उद्धार, धार्मिक तथा सांस्कृतिक सम्पदा भ्रमणलगायत विशेष हवाई सेवा प्रदान गर्दै आएको छ।

कम्पनीसँग हाल दुई वटा हेलिकप्टरको बेडा रहेको छ भने ५९ भन्दा बढी दक्ष जनशक्ति कार्यरत छन्।

प्रभु हेलिकप्टरलाई ‘आईआरएन बीबी–’ साख मूल्याङ्कन

प्रभु हेलिकप्टरले इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडबाट पहिलो पटक साख मूल्याङ्कन प्राप्त गरेको छ। कम्पनीलाई जारीकर्ता साखतर्फ ‘आईआरएन बीबी–’ रेटिङ प्रदान गरिएको छ।

रेटिङअनुसार कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गरिएको छ।

कम्पनीको दीर्घकालीन विदेशी मुद्रातर्फको २ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ बराबरको बैंकिङ सुविधा तथा ३० करोड ४७ लाख ५० हजार रुपैयाँ बराबरको दीर्घकालीन नेपाली रुपैयाँ बैंकिङ सुविधालाई पनि ‘आईआरएन बीबी–’ रेटिङ दिइएको छ।

त्यस्तै, ६ करोड ५१ लाख रुपैयाँ बराबरको अल्पकालीन बैंकिङ सुविधालाई ‘आईआरएन ए–४’ रेटिङ प्रदान गरिएको छ। कम्पनीको कुल विदेशी मुद्रातर्फको ऋण २ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ र नेपाली रुपैयाँतर्फको कुल ऋण ३६ करोड ९८ लाख ५० हजार रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्