डीडीसीले बजार विस्तार गर्दै, काठमाडौं उपत्यकामा ३० वटा ‘डेडिकेटेड आउटलेट’ खोल्ने
काठमाडौं, ११ साउन । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना उत्पादन उपभोक्तासम्म सहज रूपमा पुर्याउन बजार विस्तार रणनीति अघि बढाएको छ। संस्थानले काठमाडौं उपत्यकाका विभिन्न ३० स्थानमा ‘डेडिकेटेड आउटलेट’ सञ्चालनमा ल्याउने तयारी गरेको हो।
डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार ती आउटलेटमा डीडीसीका उत्पादन मात्र बिक्री गरिनेछन्। उपभोक्तालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले आफ्नै बिक्री केन्द्र विस्तार गर्न लागिएको उनले बताए।
उनका अनुसार काठमाडौंका प्रमुख व्यावसायिक तथा आवासीय क्षेत्र बूढानीलकण्ठ, वनस्थली, कलंकी, कोटेश्वर, नयाँ बानेश्वर र शंखमूललगायत स्थानमा आउटलेट सञ्चालन गरिनेछ।
उपभोक्ताको बाक्लो उपस्थिति भएका क्षेत्रमा उपयुक्त स्थान छनोट भइरहेको डीडीसीले जनाएको छ। साउन २० देखि २५ गतेभित्र करिब १५ वटा आउटलेट पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी रहेको छ भने बाँकी आउटलेट पनि छिट्टै सञ्चालनमा आउनेछन्।
डीडीसीका बिक्री केन्द्रमा दूध, दही, घिउ, बटर, पनिर, चिज, खुवा, आइसक्रिम, लालमोहन, रसबरी र महीलगायत संस्थानका सम्पूर्ण उत्पादन उपलब्ध हुनेछन्।
यसै रणनीतिअन्तर्गत पर्यटकीय क्षेत्र वसन्तपुर डबलीमा नयाँ सजावटसहितको आउटलेट सञ्चालनमा आइसकेको छ। उक्त आउटलेटको उद्घाटन महाप्रबन्धक पाण्डेले गरेका थिए। त्यस्तै, ललितपुरको एकान्तकुनामा पनि डीडीसीको बिक्री केन्द्र सञ्चालनमा आएको छ।
भौतिक आउटलेट विस्तारसँगै डीडीसीले डिजिटल बजार विस्तारलाई समेत प्राथमिकता दिएको छ। अब केही दिनभित्रै उपभोक्ताले अनलाइनमार्फत डीडीसीका उत्पादन अर्डर गरी घरमै डेलिभरी पाउने व्यवस्था सुरु हुने संस्थानले जनाएको छ।
‘सब्स्क्रिप्सन’ प्रणालीमार्फत नियमित रूपमा उपभोक्ताको घरसम्म उत्पादन पुर्याउने योजना रहेको महाप्रबन्धक पाण्डेले बताए।
साउनमा दूध संकलन घटे पनि भदौदेखि सुधार हुने
डीडीसीले बजार विस्तारसँगै दूध संकलन अवस्थालाई पनि निगरानी गरिरहेको जनाएको छ। साउन महिनामा घरायसी खपत बढ्ने भएकाले औपचारिक च्यानलबाट दूध संकलन केही घटेको महाप्रबन्धक पाण्डेले बताए।
उनका अनुसार किसानले साउनमा आफ्नै घरमा दूधको खपत बढी गर्ने भएकाले संकलन प्रभावित भएको हो। तर भदौदेखि दूध संकलन पुनः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्