प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न आपूर्ति विभागको चेतावनी

काठमाडौं, ११ साउन । आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री–वितरण भइरहेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षलाई चेतावनी दिएको छ।

विभागले सूचना जारी गर्दै निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्रमार्फत निकासी वा पैठारीमा पूर्ण वा परिमाणात्मक बन्देज लगाएका वस्तुहरू अझै पनि बजारमा बिक्री भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विभागका अनुसार सरकारले २०७६ साल असार २ गते, २०७६ साल चैत २४ गतेलगायत विभिन्न मितिमा नेपाल राजपत्रमार्फत केही वस्तुको निकासी तथा पैठारीमा प्रतिबन्ध तथा नियन्त्रणसम्बन्धी व्यवस्था गरेको थियो।

तर, पछिल्लो समय प्रतिबन्धित वस्तुहरू अनधिकृत रूपमा पैठारी, भण्डारण तथा बिक्री–वितरण भइरहेको गुनासो प्राप्त भएको विभागले जनाएको छ।

विभागले प्रतिबन्धित वस्तुको अनधिकृत पैठारी, सञ्चय तथा बिक्री–वितरण कानुनबमोजिम दण्डनीय हुने स्पष्ट पारेको छ। साथै, सबै पैठारीकर्ता, सञ्चयकर्ता तथा विक्रेतालाई प्रचलित कानुनले तोकेका दायित्व, सर्त र बन्देजको पूर्ण पालना गरी व्यापार–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।

कानुनविपरीत प्रतिबन्धित वस्तुको कारोबार गरेको पाइएमा निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्