सानिमा बैंकको नाफा ३८ प्रतिशत बढ्यो, तीन अर्ब ५५ करोड रुपैयाँ कमाइ
काठमाडौं, ११ साउन । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ मा तीन अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले दुई अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको थियो। यसअनुसार बैंकको नाफा वार्षिक आधारमा करिब ३८ प्रतिशतले वृद्धि भएको हो।
बैंकको खुद ब्याज आम्दानी, शुल्क तथा कमिसनबाट हुने आम्दानी बढ्नुका साथै कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याइने प्रावधान रकम घटेकाले नाफामा उल्लेख्य सुधार भएको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३५ करोड रुपैयाँबाट बढेर ६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, शुल्क, कमिसन तथा अन्य स्रोतबाट बैंकले दुई अर्ब ७४ करोड रुपैयाँ आम्दानी गरेको छ।
बैंकले अघिल्लो वर्ष एक अर्ब ८८ करोड रुपैयाँ कर्जा नोक्सानी प्रावधान राखेकोमा गत आर्थिक वर्षमा यस्तो प्रावधान एक अर्ब सात करोड रुपैयाँमा सीमित गरेको छ।
समीक्षा अवधिमा बैंकको कुल कर्जा ११.१९ प्रतिशतले बढेर दुई खर्ब तीन अर्ब रुपैयाँ पुगेको छ भने कुल निक्षेप १०.८४ प्रतिशतले वृद्धि भई दुई खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ।
पूँजी पर्याप्तताका सूचकमा पनि बैंक सहज अवस्थामा रहेको छ। नियामकीय व्यवस्था अनुसार न्यूनतम ११ प्रतिशत हुनुपर्ने पूँजी कोष अनुपात बैंकको १३.१० प्रतिशत रहेको छ। त्यसैगरी न्यूनतम ८.५ प्रतिशत हुनुपर्ने प्राथमिक पूँजी अनुपात १०.१७ प्रतिशत पुगेको छ।
बैंकको निष्क्रिय कर्जा अनुपात ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशतमा झरेको छ। प्रतिसेयर आम्दानी १८.९४ रुपैयाँबाट बढेर २५.७५ रुपैयाँ पुगेको छ भने सेयरधनीको प्रतिफल ११.७० प्रतिशतबाट बढेर १४.३९ प्रतिशत पुगेको छ।
वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षको नाफाबाट करिब २०.८५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता हासिल गरेको छ।













प्रतिक्रिया दिनुहोस्