माटो सुधार र प्राङ्गारिक मल प्रयोग बढाउन किसानलाई मन्त्री चौधरीको आग्रह
काठमााडौं, १० साउन । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले माटोको स्वास्थ्य सुधारलाई दिगो कृषि विकासको आधार भन्दै किसानलाई प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गरेकी छन्।
धनुषा जिल्लाको कृषि गतिविधिको स्थलगत अनुगमनका क्रममा मन्त्री चौधरीले किसानको घरदैलोमा पुगेर माटो सुधार, उत्पादन वृद्धि र वातावरणमैत्री कृषि प्रणालीका विषयमा छलफल गरेकी हुन्।
मन्त्री चौधरीले धनुषा भ्रमणका क्रममा लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडअन्तर्गत सञ्चालित कस्टम हायरिङ सेन्टर, बटेश्वर गाउँपालिका–५ शान्तिपुरस्थित अन्नपूर्ण माछापालन कम्पनी प्रा.लि. तथा चित्रनगरस्थित आँप बगैंचाको अवलोकन गरेकी थिइन्।
किसानसँगको भेटमा उनले स्थानीय स्रोतबाट उत्पादन हुने गोठे मल, कम्पोस्ट तथा अन्य प्राङ्गारिक मलको प्रयोग विस्तार गर्न आग्रह गरिन्। “माटो सुधार नै कृषि सुधारको आधार हो। स्थानीय स्रोतबाट बनेका गोठे मल र प्राङ्गारिक मलको प्रयोग बढाउन सबै किसानलाई आग्रह गर्दछु,” उनले भनिन्।
उनले प्राङ्गारिक मलको प्रयोग बढाउँदा रासायनिक मलमाथिको निर्भरता घट्ने, उत्पादन लागत कम हुने, वातावरण संरक्षणमा सहयोग पुग्ने तथा माटोको दीर्घकालीन उर्वराशक्ति कायम राख्न मद्दत पुग्ने बताइन्।
लक्ष्मीनियाँस्थित कस्टम हायरिङ सेन्टरको निरीक्षण गर्दै मन्त्री चौधरीले महिला कृषकहरूको सक्रियताको प्रशंसा गरिन्। आधुनिक कृषि उपकरण किसानलाई सहुलियत दरमा उपलब्ध गराउने यस्ता केन्द्रहरूले कृषि आधुनिकीकरणमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो।
त्यस्तै, अन्नपूर्ण माछापालन कम्पनी प्रा.लि.को निरीक्षणका क्रममा उनले व्यावसायिक मत्स्यपालन, माछाको भुरा, दाना तथा आवश्यक औषधि उत्पादन र आपूर्तिमा कम्पनीले खेलेको भूमिकाको प्रशंसा गरिन्। उनले स्थानीय मत्स्य व्यवसायलाई थप सुदृढ बनाउन यस्ता प्रयासलाई प्रोत्साहन गर्नुपर्ने बताइन्।
भ्रमणका क्रममा चित्रनगरस्थित आँप बगैंचाको निरीक्षण गर्दै मन्त्री चौधरीले फलफूल खेतीको व्यवसायीकरण, उत्पादन वृद्धि र बजार व्यवस्थापनका विषयमा किसानसँग छलफल गरिन्।
मन्त्री चौधरीले किसानका समस्या, आवश्यकता र सम्भावना बुझ्न खेतबारीमै पुगेर जानकारी लिइरहेको बताउँदै किसानमुखी, दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माणका लागि आवश्यक नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्।













प्रतिक्रिया दिनुहोस्