वाणिज्य बैंकको कर्जा ५१ खर्ब नाघ्यो, उपभोग कर्जा शीर्ष स्थानमा
काठमााडौं, १० साउन । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जा प्रवाह र निक्षेप संकलन दुवै विस्तार भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्यांकअनुसार बैंकिङ प्रणालीबाट प्रवाह भएको कुल कर्जामध्ये सबैभन्दा ठूलो हिस्सा उपभोग कर्जाले ओगटेको छ।
राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ७० खर्ब १५ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। सो अवधिमा विभिन्न आर्थिक क्षेत्रमा गरी ५१ खर्ब ६९ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।
कुल कर्जामध्ये उपभोग शीर्षकमा मात्रै १० खर्ब ९८ अर्ब ३० करोड रुपैयाँ लगानी भएको छ। यो बैंकहरूको सबैभन्दा ठूलो क्षेत्रगत कर्जा हिस्सा हो। व्यापार क्षेत्रमा पनि बैंकहरूको लगानी उल्लेख्य देखिएको छ। थोक तथा खुद्रा व्यापारका लागि ९ खर्ब ४९ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।
गैर–खाद्य उत्पादन उद्योगमा ५ खर्ब ८१ अर्ब २२ करोड रुपैयाँ लगानी भएको छ भने विद्युत्, ग्यास तथा पानीसम्बन्धी आयोजनामा ४ खर्ब ९२ अर्ब ४४ करोड रुपैयाँ कर्जा परिचालन भएको छ। वित्त, बीमा तथा रियल इस्टेट क्षेत्रमा ३ खर्ब ७० अर्ब ७४ करोड रुपैयाँ लगानी पुगेको छ।
कृषि तथा उत्पादनमूलक क्षेत्रमा पनि बैंकहरूको लगानी निरन्तर रहेको छ। कृषि, वन तथा पेय पदार्थ उत्पादनसँग सम्बन्धित गतिविधिमा ३ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। कृषि तथा वन क्षेत्रमा मात्रै ३ खर्ब ५६ करोड रुपैयाँ लगानी भएको छ।
निर्माण क्षेत्रमा २ खर्ब ३० अर्ब १८ करोड रुपैयाँ, होटल तथा रेस्टुरेन्ट व्यवसायमा २ खर्ब २८ अर्ब ४३ करोड रुपैयाँ तथा यातायात, सञ्चार र सार्वजनिक सेवा क्षेत्रमा ६८ अर्ब ४२ करोड रुपैयाँ कर्जा पुगेको छ।
उत्पादनगत वर्गीकरणअनुसार बैंकहरूको सबैभन्दा ठूलो लगानी अवधि कर्जा (टर्म लोन) मा रहेको छ। टर्म लोनअन्तर्गत १८ खर्ब ७९ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। त्यस्तै कार्यशील पुँजी तथा डिमान्ड लोनमा ८ खर्ब ५४ अर्ब ८६ करोड रुपैयाँ र क्यास क्रेडिट कर्जामा ५ खर्ब ८६ अर्ब ३३ करोड रुपैयाँ लगानी भएको छ।
व्यक्तिगत आवास निर्माण तथा खरिदका लागि दिइने घर कर्जा ३ खर्ब ६३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। विपन्न वर्ग कर्जामा २ खर्ब ४३ अर्ब २८ करोड रुपैयाँ र रियल इस्टेट क्षेत्रमा २ खर्ब १९ अर्ब ५३ करोड रुपैयाँ लगानी भएको छ।
यसैगरी मार्जिन प्रकृतिको कर्जा १ खर्ब ३९ अर्ब ७६ करोड रुपैयाँ, हायर पर्चेज कर्जा १ खर्ब २७ अर्ब २८ करोड रुपैयाँ, ओभरड्राफ्ट कर्जा ९० अर्ब ९१ करोड रुपैयाँ तथा ट्रस्ट रिसिप्ट र आयातसम्बन्धी कर्जा ९० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।
निक्षेपतर्फ बचत खाताको हिस्सा सबैभन्दा ठूलो देखिएको छ। कुल निक्षेपमध्ये बचत खातामा ३३ खर्ब १४ अर्ब ८६ करोड ६८ लाख रुपैयाँ रहेको छ भने मुद्दती निक्षेप २५ खर्ब ९१ अर्ब १७ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
मुद्दती निक्षेपमध्ये ६ देखि १२ महिनासम्मको अवधिको निक्षेप सबैभन्दा बढी रहेको छ। यस अवधिमा ८ खर्ब ४४ अर्ब १० करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ। १ देखि २ वर्ष अवधिको मुद्दती निक्षेप ८ खर्ब १३ अर्ब ९८ करोड रुपैयाँ र २ वर्षभन्दा बढी अवधिको निक्षेप ५ खर्ब ७७ अर्ब १४ करोड रुपैयाँ रहेको छ।
ब्याज नदिइने निक्षेपतर्फ चालु खातामा ४ खर्ब ८३ अर्ब १५ करोड रुपैयाँ र मार्जिन खातामा ४६ अर्ब २९ करोड रुपैयाँ रहेको छ। अन्य शीर्षकमा १ खर्ब ३ अर्ब रुपैयाँभन्दा बढी रकम संकलन भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।













प्रतिक्रिया दिनुहोस्