समस्याग्रस्त सहकारीका ४८ बचतकर्तालाई करिब १२ लाख रुपैयाँ फिर्ता

काठमााडौं, १० साउन । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका ४८ जना बचतकर्तालाई करिब १२ लाख रुपैयाँ बचत रकम फिर्ता गरेको छ।

समितिका अनुसार सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा बचतकर्तालाई रकम फिर्ता गरिएको हो। यसअन्तर्गत ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक, स्वीकृत चिकित्सकबाट प्राणघातक रोग लागेको प्रमाणित भएका बचतकर्ता, एकल महिला, पूर्ण अपाङ्गता भएका व्यक्ति तथा पाँच लाख रुपैयाँभन्दा बढी बचत भएका बचतकर्ताले रकम प्राप्त गरेका छन्।

समितिले एकपटकमा बचत रकमको अधिकतम ५० प्रतिशतसम्म, तर ५० हजार रुपैयाँभन्दा बढी नहुने गरी भुक्तानी गर्ने व्यवस्था लागू गरेको जनाएको छ।

समस्याग्रस्त सहकारीका बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले उक्त व्यवस्था कार्यान्वयन गरिएको समितिको भनाइ छ। समितिले प्राथमिकतामा परेका अन्य बचतकर्ताको निवेदनका आधारमा पनि चरणबद्ध रूपमा बचत रकम फिर्ता गर्ने प्रक्रिया निरन्तर अघि बढाइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्