एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आए, भारत पहिलो स्रोत मुलुक

काठमााडौं, १० साउन । आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यो अवधिमा भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन्।

बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारतबाट ३ लाख ११ हजार ५३१ पर्यटक नेपाल आएका छन्, जुन कुल विदेशी पर्यटक आगमनको करिब २५.७६ प्रतिशत हो। भारतपछि संयुक्त राज्य अमेरिका दोस्रो र चीन तेस्रो ठूलो स्रोत मुलुक बनेका छन्। उक्त अवधिमा अमेरिकाबाट १ लाख ११ हजार ३२५ तथा चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका छन्।

यसैगरी बङ्गलादेशबाट ५८ हजार १६३, बेलायतबाट ५६ हजार ६४९, अस्ट्रेलियाबाट ५३ हजार १९५, श्रीलङ्काबाट ४३ हजार २११, भुटानबाट ३६ हजार २८९, म्यानमारबाट ३० हजार ७३७, जर्मनीबाट २९ हजार २९६, थाइल्यान्डबाट २७ हजार २०१, जापानबाट २५ हजार ७६२ र मलेसियाबाट २५ हजार ६४० पर्यटक नेपाल आएका छन्।

तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै विदेशी पर्यटक कात्तिक महिनामा नेपाल आएका थिए। कात्तिकमा १ लाख २४ हजार ८२९ पर्यटक भित्रिएका थिए। त्यसपछि चैतमा १ लाख १९ हजार ३९०, फागुनमा १ लाख १४ हजार १५२ र असोजमा १ लाख ११ हजार ७८० विदेशी पर्यटक नेपाल आएका थिए।

नेपाल पर्यटन बोर्डले भारत र चीनलाई लक्षित गर्दै पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई तीव्रता दिएको जनाएको छ। आर्थिक वर्ष २०८२/८३ मा भारतका पुणे, हैदरावाद, चेन्नई, मुम्बई, नयाँ दिल्लीलगायत विभिन्न सहरमा एक दर्जनभन्दा बढी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो। त्यसबाहेक अन्तर्राष्ट्रिय बजारमा ४० भन्दा बढी पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार आर्थिक वर्षको अन्तिम तीन महिनामा भारतसँग सीमा जोडिएका झापादेखि कञ्चनपुरसम्मका क्षेत्रमा सीमापार पर्यटन मेला तथा पर्यटन बजार कार्यक्रम सञ्चालन गरिएको थियो। यसबाट स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको विश्लेषण गरिएको छ।

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले अन्तर्राष्ट्रिय बजारमा गरिएको प्रवर्द्धन, हवाई पहुँचको विस्तार र निजी क्षेत्रसँगको सहकार्यका कारण नेपालको पर्यटन क्षेत्रमा सकारात्मक वृद्धि भएको बताए।

उनले नेपालको पर्यटन पुनरुत्थानको चरण पार गर्दै दिगो वृद्धितर्फ अघि बढिरहेको उल्लेख गर्दै प्रमुख स्रोत मुलुकसँगै नयाँ सम्भावना भएका बजारमा पनि लक्षित प्रवर्द्धनलाई अझ प्रभावकारी बनाइने बताए।

उनका अनुसार विशेषगरी चीन, अमेरिका, अस्ट्रेलिया र बङ्गलादेशजस्ता उच्च सम्भावना भएका स्रोत मुलुकमा नियमित व्यवसायिक प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेर पर्यटक आगमन बढाउने तयारी गरिएको छ।

सरकारले सन् २०२७ लाई आरोग्य पर्यटन वर्ष का रूपमा मनाउने घोषणा गरिसकेको उल्लेख गर्दै बोर्डले चालु आर्थिक वर्षमा विदेशी पर्यटक आगमन अझ बढ्ने अपेक्षा गरेको छ। साथै, उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्ने, बसाइ अवधि लम्ब्याउने र नयाँ अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाइने बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्