एक पटकको नेपाली, सधैँको नेपाली सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमााडौं, १० साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मूल मर्मलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताएका छन्।

शनिबार अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीहरूको सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले प्रवासी नेपालीहरूलाई उक्त नीतिप्रति पूर्ण रूपमा ढुक्क हुन आग्रह गरे।

प्रवासी नेपालीहरूलाई नेपालको विकास र लगानीका सद्भावना दूतको संज्ञा दिँदै अर्थमन्त्री वाग्लेले देशको आर्थिक समृद्धि र विकास यात्रामा उनीहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले नेपालमा लगानी, सीप, ज्ञान र अनुभव भित्र्याउन गैरआवासीय नेपाली समुदायको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।

उनले वर्तमान सरकार सुशासन प्रवर्द्धन, सेवा प्रवाह सुधार तथा आर्थिक विकासलाई गति दिन प्रतिबद्ध रहेको दाबी गरे। सरकार गठनपछिको १०० दिनको कार्यकालको समीक्षा गर्दै मन्त्री वाग्लेले उच्च इमानदारीका साथ सरकारी सेवा प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने तथा अर्थतन्त्रलाई सही दिशामा अघि बढाउने प्रयास भइरहेको बताए।

“हामीले उच्च इमानदारीका साथ सरकारी सेवालाई सहज बनाउने र अर्थतन्त्रलाई सही दिशा दिने प्रयास सुरु गरेका छौँ,” उनले भने।

मन्त्री वाग्लेले नेतृत्वमा उच्च नैतिकता, योग्यता (मेरिटोक्रेसी) र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै पछिल्लो एक दशककै उत्कृष्ट सुधारको आधार तयार गरिएको दाबी गरे।

उनले प्रवासी नेपालीलाई नेपालको आर्थिक रूपान्तरणका साझेदारका रूपमा सरकारसँग सहकार्य गर्न आह्वान गर्दै लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले आवश्यक नीतिगत सुधारलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्