बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण सम्पन्न, ६३.४ प्रतिशत बजेट खर्च

काठमाडौं, ७ साउन । बागमती प्रदेश सरकारले गत आर्थिक वर्षमा ४४ वटा सडक पुल निर्माण सम्पन्न गरेको जनाएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार मन्त्रालयअन्तर्गत विनियोजित कुल बजेटमध्ये ६३.४० प्रतिशत खर्च भएको छ।

मन्त्रालयका प्रवक्ता मदनकुमार आले मगरका अनुसार समीक्षा अवधिमा १३६.६६ किलोमिटर ग्राभेल सडक स्तरोन्नति, २३१.३१ किलोमिटर कालोपत्रे तथा ढलान सडक निर्माण, छ वटा झोलुङ्गे (पैदलयात्री) पुल, १७ सरकारी भवन, १०२ सामुदायिक भवन, ९४० विभिन्न कार्यक्रममार्फत आवास निर्माण तथा १७ वटा उद्यान निर्माण सम्पन्न गरिएको छ।

मन्त्रालयका अनुसार निर्माणाधीन ४१ वटा रुग्ण आयोजनामध्ये सात वटा आयोजना सम्पन्न भइसकेका छन्। त्यस्तै २३ वटा आयोजनाको निर्माण कार्य पुनः सुचारु गरी कार्यसम्पादनमा तीव्रता दिइएको छ।

बाँकी ११ वटा आयोजनाको निर्माण कार्य सञ्चालनका लागि आवश्यक समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। साथै, कार्यमा ढिलाइ गरेका चार वटा आयोजनामा हर्जाना लगाएर कारबाही गरिएको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्